सीएमए संघको अनुरोध : आफू बाँच अनि बिरामी बचाउ

चितवन २५ भदौ । नेपाल सीएमए संघ चितवनले आफ्नो संघमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई कोरोना महामारीको समयमा आफू जोगिएर मात्रै स्वास्थ्य सेवा प्रदान गर्न अनुरोध गरेको छ ।
संघको १७ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संघले आफ्ना सदस्यहरुलाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अपनाएर स्वास्थ्य सेवा दिन अनुरोध गरेको हो । संघका चितवन जिल्ला अध्यक्ष रामजी घिमिरेले विहीबार शुभकामना सन्देश दिँदै भनेका छन्, ‘फ्रन्टलाईन खट्ने स्वास्थ्यकर्मी साथीहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर कोभीड १९ बाट बाँच्न र बचाउन अनुरोध गर्दछु ।’
जिल्ला अध्यक्ष घिमिरेका अनुसार देशभरमा ५० हजारबढी सिएमए पढेका स्वास्थ्यकर्मीहरु छन् । सरकारले सीएमए लगायतका स्वास्थ्य प्राविधिक शिक्षा अहिले बन्द गरेको छ । उनले देशभर रहेका स्वास्थ्य प्राविधिकहरुलाई उचित व्यवस्थापन गर्न नसकेकोले सरकारसँग स्वास्थ्य प्राविधिकको उचित व्यवस्थापनको माग समेत गरेका छन् । गएको साउन ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अन्तरगत रहेर सिटीइभीटीले सञ्चालन गर्दै आएको प्राविधिक स्वास्थ्य विषयको सीएमए लगायतका विषयहरुको खारेजी गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट