काठमाडौं, २२ भदौं । सरकारले जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुला गरेको छ । कित्ताकाट भदौ १८ गते बसेको मन्त्रीस्तरीय निर्णयले ३ बर्षपछि खुला गरेको हो ।
यसअघिका निर्णयहरु बदर गर्दै भू उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ ।
भूउपयोग सम्बन्धी नयाँ कानुन आएकाले पुरानो व्यवस्था खारेज गरिएको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनले नयाँ कानुनले पुरानो व्यवस्थालाई खारेज गरेको बताइन् ।
२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन् ।