सर्बपक्षीय बहस : माडीलाई रामधाम किन नबनाउने ?

***नारायण सापकोटा*****
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले रामायणमा उल्लेख भएको अयोध्या ठोरीको पश्चिम क्षेत्रमा भएको हुनसक्कने अभिव्यक्ति सार्वजनिक गरेपछि विभिन्न अध्ययन अनुसन्धान शुरु भएको छ ।
अध्ययन अनुसन्धान गर्नको लागि माडी नगरपालिकाले साविक अयोध्यापुरी गाविसका पुर्व अध्यक्ष नारदमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिले विभिन्न छलफल र तथ्यहरु सङ्कलन गरी अनुसन्धानको काम अगाडि बढाएकोे छ । रामधाम बनाउने विषयमा अध्ययन अनुसन्धानको कार्य अगाडि बढिरहँदा विभिन्न विचारहरु सार्वजनिक भएका छन् । कतियप विचारहरु रामधाम निर्माण माडी विकासको अवसर हो भने कोणबाट आएका छन् भने केही फरक विचारहरु आएका छन् । रामधाम बनाउने विषयमा भन्दा पनि पक्रियाको विषयमा विभिन्न फरक मत पनि आएका छन् ।
रामधाम बनाउने प्रक्रिया र आवश्यकताको विषयमा मतान्तर भएपनि समग्र माडी विकासको विषयमा सबैको समान धारणा नै छ । रामधाम बनाउने विषयमा राजनीतिक दलहरुले पनि विभिन्न छलफल गरेका छन् । नगरपालिकाको तर्फबाट पनि विभिन्न धारणाहरु सार्वजनिक भएका छन् । कार्यपालिकामा पनि छलफल चलिरहेको छ ।
रामधाम निर्माणको बहस चलिरहँदा आएका विचारहरुलाई यहाँ समावेश गरिएको छ । यो विषय बहसकै रुपमा रहेकोले आवश्यकता अनुसार आएका नयाँ एवम् सिर्जनात्मक धारणाहरुलाई सार्वजनिक गर्दै जाने लक्ष्यसहित केही विचारहरुलाई समावेश गरिएको छ ।

माननीय रामलाल महतो, सभासद वाग्मती प्रदेशसभा                                                               – अयोध्याको प्रसङ्ग सम्माननीय प्रधानमन्त्रीले विभिन्न अध्ययन गरेर नै उठाउनुभएको विषय होला भन्ने भन्ने लाग्छ । मैले त संसदमा पनि कुरा उठाएँ । यसमा संघीय सरकार र प्रदेश सरकारले स्पष्ट रुपमा विषय उठाउनुपर्छ । अयोध्याको विषयमा सामाजिक सञ्जालमा आएका आरोप प्रत्यारोपका विषयप्रति मेरो असहमति छ । प्रधानमन्त्रीले उठाएको विषयमा अनुसन्धान गरी अगाडि बढ्नुपर्छ । अनुसन्धानको लागि समिति बनेको छ । अनुसन्धानलाई लाई सहज रुपमा अगाडि बढाउनुपर्छ । यो विषयले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने विषयमा पक्कै टेवा मिल्ने छ । अयोध्यासँग सम्बधित वाल्मीकि आश्रम र जनकपुर सबैले मान्दै आएको विषय हो । यसैको सर्किटमा माडीको साविक अयोध्यापुरी पर्ने भएकोले अयोध्याको खोज हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ ।
जहाँसम्म सुकुम्वासीहरुको समस्या समाधान नगरी अयोध्याको विषय आयो भन्ने कुरा छ यो तुलना गर्ने विषय नै होइन , तार्किक पनि छैन् । सुकुम्बासी चेपाङ्को घर निर्माण कार्य त प्रदेश सरकारको सहयोगमा काम अगाडि बढेकै विषय हो । बेनामी उजुरीका कारण सर्वोच्च अदालतद्वारा रोकिएको छ । त्यसैले सुकुम्वासीको हितमा सरकारको ध्यान गएन भन्ने विषयमा सत्यता छैन । अयोध्याको प्रसङ्गले सुकुम्बासी चेपाङ , आदिबासी जनजातिका समस्या ओझेलमा परेकै होइनन् । सरकारले प्राथमिकताकासाथ अगाडि बढाएकै छ । भुमिसम्बन्धि समस्या समाधान आयोगले सुकुम्बासीको हितमा काम गरिरहेको छ । संस्कृति पर्यटन मन्त्रालयमार्फत पर्यटन विकासका काम अगाडि बढ्छन् । स्थानीय सरकारले सबैसँग समन्वय गर्ने काम गरिरहेकै छ । त्यसैले अयोध्याको सन्दर्भमा अनुसन्धान अगाडि बढ्दै गर्दा अनावश्यक दोहोरी खेल्नुभन्दा अनुसन्धान कार्यमा सहयोग गर्नुपर्छ । यस विषयले माडीको पर्यटन प्रवद्र्धन गर्ने वियषमा सहयोग पुग्छ भन्ने मलाई लागेको छ ।

तीर्थ भुसाल अध्यक्ष माडी क्याम्पस एवम् पुर्व सांसद – वृहत खोज र अनुसन्धान गरेर विषय बाहिर आउनुपथ्र्यो । वृहत अनुसन्धान नभै प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले सार्थकता पाउँदैनकी भन्ने मलाई चिन्ता पनि छ । विषय अहिले अनुसन्धानकै चरणमा छ । त्यसैले यतिबेला अनावश्यक बहस गर्नुभन्दा अनुसन्धानकै विषयमा केन्द्रित हुनुपर्छ । मैले पनि माडी धार्मिक विषयमा अध्ययन गरेकै छु । राम साविक अयोध्यापुरीमै जन्मेका हुन भन्ने प्रमाण फेला पार्न सकेको छैन । यो विषयलाई वाल्मीकि ऋषिले पनि उल्लेख गरेको पाइएन त्यसैले पनि अनुसन्धानको विषयलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । माडीमा अहिलेसम्म फेला परेका विभिन्न तथ्यहरुबाट नयाँ विषय आउने सम्भावना पनि छ । त्यसैले अध्ययन अनुसन्धानकै खाँचो मैले देखेको छु । प्रधानमन्त्रीको अभिव्यक्ति आइरहँदा पार्टीका नेता र सरकारमा पनि समन्वय भएर आएको भए हुन्थ्यो भन्ने लागेको छ । विषय आइसकेको छ , प्रधानमन्त्रीले सार्वजनिक गरेको विषय प्रमाणित होस् भन्ने कामना पनि छ ।
माडीमा रामधाम बन्दै गर्दा छिमेकी राष्ट्र भारतका जनता र नेपाली जनताबीच विवाद उत्पन्न गर्ने विषय आउनु हुँदैन । अध्ययनबाट सर्वस्वीकार्य तथ्यको आधारमा काम अगाडि बढाउँनुपर्छ । तथ्यले प्रमाणित भएर निर्माण गर्ने विषयमा मेरो व्यक्तिगत तहबाट पनि पूर्ण सहयोग हुनेछ । अनुसन्धानबाट रामधाम बन्ने विषयले समग्र माडीको पर्यटन क्षेत्रको विकास हुन्छ । अहिले अनावश्यक विवाद नगरी अनुसन्धानलाई नै अगाडि बढाऔं भन्ने मेरो धारणा हो ।

केवल चौधरी पुर्व जनप्रतिनिधि साबिक बधौडा गाविसमाडीमा रामधाम बन्ने विषय माडीवासीको लागि खुशीको विषय हो । यसले माडीको धार्मिक पर्यटन मात्र होइन समग्र विकासमा सहयोग हुन्छ भन्ने मलाई लागेको छ । रामधाम बन्दै गर्दा बाटोघाटो, व्यवसाय, रोजगार स्वतः विकास हुँदै जाने विषय हुन् । यसबाट हाम्रो धर्म संस्कृतिको संरक्षण हुनुको साथै रोजगारीमा पनि सहयोग पुग्छ । यसको लागि राम मन्दिर मात्र होइन् त्यससँग सम्बन्धि पाटी, पौवा सुरक्षित धर्मशाला, बाटोघाटो , पुल लगायत पनि बन्नुपर्छ । यसको लागि प्रशस्त जग्गाको खोजी गरी निर्माण गर्नुपर्छ ।
माडीमा सुकुम्बासी समस्या, आदिवासी जनजातिको लागि आयआर्जनको समस्या सिंचाइ लगायत तमाम समस्या छन् । रामधाम बन्दै गर्दा जनताका यस्ता समस्यालाई पनि समाधान गर्दै जानुपर्छ ।                                                                                                                    ओमनाथ पाण्डे, नेकपा वाग्मती प्रदेश सदस्यमाडीमा समस्याहरुलाई समाधान गर्ने विषयमा केन्द्रित हुनुपर्ने समयमा रामधाम निमार्णको नयाँ एजेण्डा आउनु सान्दर्भिक होइन् । त्यसमा पनि धर्म निरपेक्षताको देशमा प्रधानमन्त्रीबाट राम मन्दिर बनाउने विषय संवैधानिक रुपबाट पनि मिल्ने विषय होइन । हिजोका दिनमा माडीका समस्या समाधान गरी माडीलाई मणि बनाउने एजेण्डा बोकेका नेता नै आफ्ना एजेण्डा छोडेर मोदी लाइनमा जान खोज्नु समाजवादको नाममा रचिएको भ्रष्टिकरणको रुप हो भन्ने मलाई लागेको छ ।
माडी सुकुम्बासीको विषय, निकुञ्जको विषय, रिउ करिडोरको विषय लगायत अनेकौं समस्या छन् । यस्ता समस्या समाधान गर्ने विषयमा कुनै चासो नदिई राममन्दिर बनाउने विषय आउँदा उल्लेखित विषय ओझेलमा पर्छन भन्ने मलाइ लागेको छ । आस्थावान मानिसहरुले आस्था अनुसारको मन्दिर बनाउने विषयमा मेरो कुनै विमति छैन । त्यसमा आवश्यक परे सहयोग पनि गर्नुपर्छ तर कम्युनिष्ट पार्टीको प्रमुख नेता एवम् देशको प्रधानमन्त्रीले नै मन्दिरको एजेण्डा बोकेर हिड्नु कम्युनिष्ट पार्टीको सिद्धान्त विपरितको विषय हो । त्यसमा चेपाङ्को बस्ती बसाल्नको लागि अवरोध भएरहेको अवस्थामा निकुञ्जको ऐन परिवर्तन नगरी सयौ बिघाहा जमिन कसरी प्राप्त हुन्छ भन्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो लाग्दैन ।

ऋषि काफ्ले –जिल्ला कमिटि सदस्य ,नेकपा चितवनकम्युनिष्ट पार्टीको वैठकबाट निर्णय गरेर मन्दिर बनाउने कार्य कम्युनिष्ट पार्टीको नीति र सिद्धान्त विपरितको विषय हो । द्वन्द्वात्मक भौतिकवादीवादी दृष्ट्रिकोणबाट हेर्दा पनि सिद्धान्त विपरित भएकोले कम्युनिष्ट पार्टीले मन्दिर बनाउने एजेण्डा बोकेर हिड्न मिल्दैन भन्ने मलाई लागेको छ । अर्को कुरा माडीमा राममन्दिर बनाउने विषयभन्दा पनि चेपाङ, सुकुम्वासी, आदिवासी राष्ट्रिय निकुञ्जल, शिक्षा , स्वास्थ्यलगायतका अत्यावश्यक समस्या छन् त्यसमा केन्द्रीत हुनुपर्ने बेलामा राममन्दिर बनाउने विषय ल्याउनु कम्युनिष्टको नीति विपरित छ । समय र आवश्यकताको क्षेत्रबाट पनि सान्र्दभिक हुन सक्दैन ।
अर्को कुरा मन्दिर बनाउने विषयमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने मेरो धारणा पटक्कै होइन । धार्मिक स्वन्त्रता भएको देशमा मठ मन्दिरहरु बनेका छन् , बन्दै पनि जान्छन् । धार्मिक पर्यटनको विकास पनि हुनुपर्छ । यो विषय पार्टीको निर्णय गरेर बनाउने विषय होइन । राष्ट्र प्रमुखले बोलेको विषयलाई सरकारी तवरबाट नै अगाडि बढाउनुपर्छ , स्थानीय सरकारले अग्रसरता लिने विषय हो । अध्ययन ,अनुसन्धानको काम गर्न समिति बनेको छ । अनुसन्धान हुँदै जाओस् शुभकामना छ , मेरो कुनै विमति र अवरोध छैन् । तर राममन्दिरको एजेण्डाले माडीवासी जनताका ज्वलन्त समस्याहरु ओझेलमा पार्नु पटक्कै हुँदैन् ।

प्रभुप्रसाद महतो नेकपा माडी नगर अध्यक्षराममन्दिर बनाउने वा नबनाउने भन्दापनि कसले र कसरी बनाउने भन्ने विषयमा विभिन्न बहसहरु भएका छन् । कुनै कार्यको थालनीको लागि बहस आवश्यक पनि हो । कम्युनिष्ट पार्टीने नीतिगत निर्णय गरेर मन्दिर बनाउने विषय अगाडि बढाउने होइन् संघ र स्थानीय सरकारले अग्रसरता लिएर काम अगाडि बढाउँनुपर्छ भन्ने विचारहरु आएका छन् । यि सान्दर्भिक विचारहरु हुन भन्ने लाग्छ ।
प्रधानमन्त्रीबाट राम मन्दिर बनाउनको लागि आएको अभिव्यक्तिले माडीका सुकुम्बासी, निकुञ्ज, दलित जनजाति, आदिवासी लगायत तमाम समस्या ओझेलमा पर्नु हुँदैन भन्ने सबैको मत छ । यसका साथै धार्मिक पर्यटनको विकास गर्ने सन्दर्भमा राम मन्दिर बनाएर मात्र हुँदै वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धक, सोमेश्वर, वैकुण्ठेलगायत ठोरीसम्मका सबै धार्मिक, पुरातात्विक स्थलहरुको गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्छ । मुख्यत २०२९ को निकुञ्ज ऐन संशोधन गरी रिउ करिडोर, सडकलगायतका विषय अगाडि बढाउनुपर्छ । राम मन्दिर निर्माण हुँदै गर्दा माडीमा समग्र विकासका ढोकाहरु खुल्ला गरेर जानुपर्छ ।
                                                                        कमल भुसाल नेपाली कांग्रेस, नगर सभापति माडीप्रधानमन्त्रीले दिनुभएको अयोध्या सम्बन्धी विषयले खोज र अनुसन्धानको कार्य अगाडि बढाएको छ । पुराना पुरातात्विक महत्वका सामग्रीहरु भेटिदै जानुले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ । यो विषयले माडीको धार्मिक विकास मात्र होइन समग्र विकासको ढोका खोलेको छ भन्ने मलाई लागेको छ ।
प्रधानमन्त्रीले सार्वजनिक गरेको विषयलाई पुरातत्व विभाग र संस्कृति तथा पर्यटन मन्त्रालयले अग्रसरता लिएर काम गर्नुपर्छ । यो विषयले माडीका समस्या ओझेलमा पर्ने भन्ने विषय होइन झन प्राथमिकता पाएर अगाडि बढ्छन् भन्ने नै लागेको छ । समग्रमा हेर्दा यो माडी विकासको अवसर पनि हो यसमा नेपाली कांग्रेस पार्टीको तर्फबाट समर्थन र सहयोग हुन्छ ।

रामेश्वर चौधरी, नगर कमिटि सदस्य, नेकपा माडी – सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले सार्वजनिक गर्नुभएको राममन्दिर बनाउने योजनालाई समग्र माडी विकासको अवसरको रुपमा लिनुपर्छ भन्ने लागेको छ । किनकि राममन्दिर माडीमा धार्मिक पर्यटन प्रवद्धन गर्ने हो । धार्मिक पर्यटन विकासको लागि माडीका वाल्मीकि आश्रमदेखि ठोरीसम्मका धार्मिक स्थलहरुको विकास गर्ने विषय हो । धार्मिक पर्यटनको विकासले माडीको बाटोघाटो, पुल,आवास,होटेल व्यवसाय स्वतः विकास हुने विषय हुन् । त्यसैले यसलाई अवसरको रुपमा लिनुपर्छ ।
राममन्दिर बनाउने विषयले चेपाङ्को आवास निर्माण, सुकुम्वासी समस्या, आदिवासी, दलित जनजातिका समस्याहरु ओझलमा पर्छन भन्ने विचारहरु पनि आएका छन् । सुरुका चरणमा यस्ता विचार आउनु स्वभाविकै हो तर राममन्दिरको विषयले माडी विकासका योजना ओझेलमा होइन झन प्राथमिकतासाथ अगाडि बढ्छन् भन्ने मलाई लागेको छ । यो विषयलाई केन्द्र, प्रदेश र स्थानीय सरकारको प्राथमिकताको विषय बन्नुपर्छ । अध्ययन अनुसन्धानको लागि समिति बनेर काम अगाडि बढिसकेको छ । अनुसन्धानको कार्यमा सबैले सहयोग गर्नुपर्छ । तत्कालको लागि केही फरक विचारहरु आएपनि छलफल हुँदै जाँदा विचारहरु पनि एकीकृत हुँदै जान्छन् भन्ने नै लाग्छ । यो विवाद गर्ने र राजनीतिक दाउपेचको विषय होइन, माडी विकासको अवसर हो । अवसरलाई समातेर अगाडि बढ्नु सबैको दायित्व पनि हो ।
कमल चेपाङ उपाध्यक्ष चेपाङ संघ माडी नगरपालिका –                                                माडीमा राममन्दिर बनाउने विषय अगाडि बढिरहँदा भूमिहीन चेपाङ्को बस्ती व्यवस्थापनको विषय ओभेलमा पर्छ कि भन्ने चिन्ता हो । आजसम्म पनि बेनामी उजुरीमाथि कारववाही नहुनु र चेपाङ्का घर निर्माण हुन नसक्नुले सरकारले हाम्रा मुद्दालाई चासो नदिएको अनुभूति हामीलाई भएको छ । त्यसैले भूमिहीन चेपाङ्का समस्या समाधान गर्ने विषयमा सरकारको पहिलो नजर परोस् भन्ने हाम्रो माग हो ।
राम मन्दिर बनाएर पर्यटन विकास गर्ने विषय माडी विकासको अवसर पनि हो भन्ने लागेको छ । किनकि राममन्दिर बन्दै गर्दा अन्य क्षेत्रको पनि विकास अगाडि बढ्दै जान्छ । त्यस विषयमा हाम्रो सहयोग र साथ रहन्छ । तर हाम्रा मुद्दालाई कमजोर बनाउने विषयले राममन्दिरको विषय आएको हो भने अहिले पनि हामी आन्दोलनमा छौं , आन्दोलनलाई अझ सशक्त बनाएर अगाडि बढाउँछौं ।

शेयर गरौ

ताजा अपडेट