चितवनमा कुखुराको मासुकाे मुल्य ह्वात्तै घट्याे : प्रतिकेजी २०० मा झर्‍यो

रत्ननगर, भदौ २१ । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ ।

पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो ।

एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ ।

कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घन्टामात्र खुल्ने गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अतिसंवेदनशील क्षेत्र भएकाले निर्वाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताउनुभयो ।

‘४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन’-उहाँले भन्नुभयो-‘कुखुरा र तरकारी एउटैजस्तै हो । लामो समयसम्म भन्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाउँ बन्दजस्तै छ ।’

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरेपनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताउनुभयो ।

सामान्यतया ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मूल्यमा भारी गिरावट आएको उहाँको भनाइ छ ।

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरीमा पनि परेको छ । प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ ।

उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउनुहुन्छ । बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ ।

लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् । एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन् ।

उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ । यहाँबाट काठमाडौं, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ । रासस

शेयर गरौ

ताजा अपडेट