चितवन निषेधाज्ञा केही खुकुलो : बिहान १० देखि ४ बजेसम्म पसल खोल्न पाउने

चितवन १९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबारदेखि निषेधाज्ञा खुकुलो बनाएको छ ।
आज प्रशासनले जारी गरेको सुचनामा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

शनिबारदेखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनु भयो । चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको शर्माले बताउनु भयो ।
असार साउनपछी जिल्लामा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वीचितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिका समेत निषेधाज्ञा जारी गरिएको थियो । पछि थपिएको साता निषेधाज्ञाको बेला माडी नगरपालिकामा समेत निषेधाज्ञा थप गरिएको थियो ।

जिल्लामा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमण देखिन थालेको छ । भरतपुरमा शुक्रबार विहानसम्ममा ५९४ जना संक्रमित पुगेका छन् । यस्तै जिल्लामा कुल संक्रमितको संख्या ९३३ पुगेको छ । संक्रमणको संख्या हरेक दिन वृद्धि हुँदै गएको छ ।

शेयर गरौ

ताजा अपडेट