चितवन, १७ भदौ । भरतपुरको वागेश्वरी प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको आइसोलेसन केन्द्र उद्घाटन भएको तीन दिनमा नै पचास प्रतिशत शैया भरिएको छ ।
कोरोना संक्रमित विरामीको सख्या वृद्धि हुदै जान थालेपछि लक्षण नदेखिएका विरामी राख्न भरतपुर महानगरपालिका वडा नं. १ को वागेश्वरी प्राकृतिक चिकित्सालयमा ७५ शैयाको आइसोलेसन केन्द्र स्थापना गरिएको थियो । भदौ १४ गते उद्घाटन गरेको केन्द्रमा १६ गते बेलुकासम्म ३५ शैया भरिसकेको केन्द्रका डाक्टर हेमराज कोइरालाले जानकारी दिनु भयो ।
‘उद्घाटनको दिनबाटै राख्न थालेका छौ, आउने क्रम जारी छ ’ डाक्टर कोइरालाले भन्नु भयो ‘विरामीलाई योग अभ्यास गराउने उहाँहरुको स्वास्थ्यलाई ध्यान दिने काममा लागेका छौ ।’ विरामीको चाप वृद्धि भएपछि योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय वागेश्वरीमा बाँकी रहेको भवनमा शैया थप्ने तयारी भएको छ ।
पहिलो चरणमा ७५ शैयाको निर्माण गरेका छौ अब त्यसले पुग्ने अवस्था रहेन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो । ‘त्यहाँ बाँकी रहेको भवनमा शैया थप्ने तयारी रहेको छ ’ दाहालले भन्नु भयो ‘महानगरपालिकाले चासो दिएर निर्माणको प्राकृतिक चिकित्सालयलाई अनुदान रकम दिएका छौ । ’ फेरि थप्नु परेमा हामीले सहयोग गर्ने छौ ।
कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका, अलगै घरमा बस्ने स्थान नभएकाहरुलाई यहाँ ल्याएर राख्ने गरिएको छ । चितवनको ल्याबमा परीक्षण गर्दा हरेक दिन ४० जना भन्दा माथि कोरोना संक्रमण थपिएपछि पालिकाहरुले आफ्नो स्थानमा अलगै आइसोलेसन निर्माणको लागि चासो दिएको छ । भरतपुर महानगरापलिकाले निर्माण गरेको आइसोलेसनमा वडा कार्यालय, भरतपुरमा रहेको अस्पतालको सिफारिसमा वागेश्वरीको आइसोलेसनमा विरामी राख्ने व्यवस्था मिलाएको छ ।
विरामीको चाप वृद्धि हुदा राख्ने स्थानको अभाव हुन थालेपछि लक्षण नदेखिएका विरामी राख्ने ठाउको अवश्यकता रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनु भयो । अस्पतालमा आइसोलेसन वार्ड थप गर्दै लगेपनि यहाँ मात्रैले नपुग्ने उहाँको भनाइ छ ।