देशका धेरै स्थानमा मघेगर्जनसहित वर्षा हुने

काठमाडौं, १७ भदौं । नेपालको मौसममा फेरि बदली आएको छ । अहिले बिहान पनि गण्डकी र प्रदेश–५ मा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

आज (बुधबार) पनि देशका धेरै स्थानमा मघेगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

‘प्रदेश ४ (गण्डकी) मा त रातभर पनि पानी परेको थियो,’ मौसमविद श्रेष्ठले भने, ‘प्रदेश–१ तिर भने आकाश खुल्दै गएको छ ।’ मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरिरहेकाले आज देशका पूर्व र मध्य क्षेत्रमा भन्दा पश्चिमतर्फ ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।

‘खासगरी आज गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी वर्षा हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘छेउमै रहकाले बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा हुने सम्भावना छ, प्रदेश–१ र २ मा पनि पानी नै नपर्ने त होइन, तर हल्का मात्रै पर्ने सम्भावना छ ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिमप्रदेशका थौरै स्थान र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

तर बागमती प्रदेशअन्तर्गत काठमाडौंमा आजलाई भारी वर्षाको सम्भावना नभएको तर हल्का वर्षाको सम्भावना भने रहेको श्रेष्ठले बताएका छन् । यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र प्रदेश–५ का एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । ‘आज र भोलि वर्षा अलि बढी हुने सम्भावना देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘शुक्रबारबाट भने वर्षा कम हुने सम्भावना छ ।’

शेयर गरौ

ताजा अपडेट