उसलाई थाहा छ उसको बाबा कोरोना संंक्रमित हुनुहुन्छ (कबिता)

कविता :

मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरुको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।
उसलाई थाहा छ उसको बाबा कोरोना सङ्क्रमित हुनुहुन्छ ।
ऊबाट धेरै पर आइसोलेसनमा बस्नुहुन्छ ।
तर पनि उसको मन आत्तिएको छैन
बाबालाई भेट्न तड्पिएको छैन ।
ऊ बुझ्छे बाबा छिट्टै निको हुनुहुन्छ, फेरि फर्किएर उसैगरी काखमा लिनुहुन्छ, काँधमा चढाउनुहुन्छ !!
उसको घोडा बनेर बरन्डामा फेरि डुलाउनुहुन्छ
उसको थोते दाँत हेरेर उसको बाबा मुर्छा परिपरि हाँस्नुहुन्छ,
त्यसैले ऊ ढुक्क छे, मनको त्रासलाई हटाएर ऊ मख्ख छे !!
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।

मास्क नलगाए बाबालाई पनि गाली गरिदिन्छे ऊ
दुरी कायम नगरे कट्टी गर्दै बोल्न छाडिदिन्छे ऊ
तातो पानी र औषधिका बारेमा पटकपटक सोधिरहन्छे ऊ
साबुनपानीले हात धुनुभयो भनेर सम्झाइरहन्छे ऊ
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

उस्तै वयका उसका साथीलाई खेल्न नआऊ है भन्छे
नडुल, नहिँड र भिडमा नजाऊ है भन्छे
साबुनपानीले हात नधोई केही नखाऊ है भन्छे
गजब त के छ भने कोरोनासँग बिनासित्तै नडराउ है भन्छे
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

उसलाई पनि बाबासँग खेल्न कहाँ मन नभएको हो र
ओल्लो खाट र पल्लो खाट गर्दै चल्न कहाँ मन नभएको हो र
तर पनि सायरा अजिबकी छ, उल्टै मलाई बल दिन्छे
अनेक तर्कना आइरहने मेरो मस्तिष्कमा शीतल जल दिन्छे
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

उसलाई अरुले हेपेको मन पर्दैन
बिनासित्ती कसैले चेपेको मन पर्दैन
सङ्क्रमितलाई हेपे चिच्याएर कराइदिन्छे
तोते बोली नै किन नहोस् सबैलाई चुप गराइदिन्छे
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।

भिडियोकलमा सधैँ मलाई हाँस्न भन्छे ऊ
दिल खोलेर मजैसँग नाच्न भन्छे ऊ
मेरो छोरीको हिम्मत देखेर म आफैँ छक्क छु
सायराको बाबा भएकोमा त्यसै त्यसै मख्ख छु ।
हो, मेरो सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

सायराको कुरा मनमा सारै गढेको छ
सानी छोरीको कुराले आत्मबल बढेको छ
त्यसैले म मस्त नाचेकै छु, कोरोनासँग लडेकै छु
छिट्टै छोरीलाई घाकुती खेलाउँला, घोडा बनेर बरन्डामा फेरि डुलाउँला
हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।
अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

– रमेश बस्ताकोटी
२०७७/०५/१४ राति ८:४५ बजे
सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर

शेयर गरौ

ताजा अपडेट