चितवन, १४ भदौ । चितवनको भरतपुर महानगरपालिकाको वागेश्वरी प्राकृतिक चिकित्सालयमा ७५ शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।
कोभिड १९ कोरोना संक्रमित विरामीको सख्या वृद्धि हुन थालेपछि महानगरपालिकाको सक्रियतामा आइसोलेसन केन्द्र स्थापना गरिएको हो । भरतपुरका अस्पतालहरुमा दिनदिनै संक्रमित विरामी वृद्धि भएपछि शैयाको अभाव हुन थालेको छ ।
महानगरपालिका वडा नं. १ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा अलगै ७५ शैया आइसोलेसन सञ्चालनमा आएको छ । आइसोलेसन केन्द्रको आज महानरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भयो । उहाले तत्कालको लागि ७५ शैयाको आइसोलेसन स्थापान गरेपनि अवस्था हेरेर थप वृद्धि गर्ने जानकारी दिनु भयो । भरतपुर अस्पताल, निजी अस्पतालहरुमा पनि संक्रमित विरामीहरु बढ्दै गएपछि अलगै राख्नको लागि व्यवस्थापन गरेको बताउनु भयो ।
भरतपुर अस्पतालका सञ्चालक समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोरोना संक्रमित भएका तर लक्षण नदेखिएका बिरामीलाई मात्र प्राकृतिक चिकित्सालयमा राखिने बताउनु भयो । ‘लक्षण भएका र नभएका विरामी एकै स्थानमा राख्दा थप समस्या आउन सक्ने भएकाले लक्षण नभएकालाई मात्र राखेर उपचार गरिने छ ’ डाक्टर अधिकारीले भन्नु भयो ‘पहिलो प्राथमिकता भरतपुर महानगरपालिका र त्यसपछि अन्य स्थानकालाई राखिने छ ।’
प्राकृतिक चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले यहा राखिने विरामीलाई सन्तुलित खाना, योगा, प्राणायाम सहित रोगसंग लड्ने क्षमता वृद्धि गराउने काम हुने जानकारी दिनु भयो । अलगै भवनमा विरामी राखिने भएकाले यहाँ राखिएकालाई लक्षण देखिएमा भरतपुर अस्पतालमा लैजाने व्यवस्था रहेको छ ।
आइसोलेसनको लागि भरतपुर महानगरपालिकाले खर्चको व्यवस्थापन गरेको छ । यहाँ राखिने विरामीको रेखदेख प्रकृतिक चिकित्सालयले गर्नेछ । भरतपुर अस्पतालका चिकित्सक सहितको टोली रहेकाले उहाँहरुको सिफारिसमा मात्र विरामीलाई यस आइसोलेसनमा राखिने तयारी गरेको छ । आइतबारबाटै विरामीलाई राखिनेछ ।
उद्घाटन कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलगायतको उपस्थिति रहेको थियो ।