बारा, ११ भदौ । कोरोनाको कारणले थप एक गर्भवतीको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारण मर्नेको सङ्ख्या १६ पुगेको छ । मर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर–४, हर्दिया टोल बस्ने २३ वर्षीय महिलाको कोरोनाको कारणले मृत्यु भएको हो । उनी ३३ साता अर्थात सात महिनाकी गर्भवती रहेकी पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डकका चिकित्सक उदयनारायण सिंहले बताउनुभयो ।
उनलाई श्वासप्रश्वास, झाडापखाला तथा ज्वरोको समस्या आएपछि वीरगञ्जमा उपचार गराउन गएका थिए । भदौ १० गते बुधबार पीसीआर रिपाेर्ट पोजिटिभ आएपछि पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान छ बजे उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
मृतक गर्भवतीको केही दिनअघिदेखि झाडापखाला लागेकाले पेटमा रहेका सात महिने बच्चाको पनि मृत्यु भइसकेको चिकित्सकबाट आएको जानकारीअनुसार नै शव व्यवस्थापन गर्ने उहाँको परिवारसहितका सुरक्षा प्रमुखहरूको कार्य भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाइनबाट