काठमाडौं, ७ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरी शनिबार पार्टीका दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले आज नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको हो ।
आज ९शनिबार० प्रतिवेदनलाई अन्तिम रुपमा दिन कार्यदलका सदस्यहरुको बालुवाटारमा आठ घण्टा बैठक बसेको थियो । प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन नपर्ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउनेलगायत सुझाव समेटिएको छ ।
त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिसलगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ । गत असार १० गतेबाट शुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।
नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमहमता पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए ।
यता कार्यदलले नेकपा विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गर्दै गर्दा प्रतिवेदनमा समेटिएका सुझावकै आधारमा नेकपाभित्रको विवाद दीर्घकालिन रुपमा समाधान हुन नसक्ने नेकपाकै शीर्ष नेताहरु बताउँछन् ।
विवाद समाधानका लागि प्रतिवेदन तयार भए पनि पछिल्लो समय प्रधानमन्त्रीले गरेका विभिन्न नियुक्तिहरुका कारण विवाद समाधानमा व्यवधान आउन सक्ने शीर्ष नेताहरु बताउँछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकल निर्णयमा गरिएका निर्णय प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले फिर्ता लिनु पर्ने बताएका छन् ।
कार्यदल गठनका बेला दुई अध्यक्षबीच केहि दूरी घटेको र पार्टीभित्रको विवाद समाधानको बाटोमा जान थालेको अनुमान भइरहेका बेलाप्रधानमन्त्रीले गरेका नियुक्तिका कारण दुई अध्यक्षबीच फेरि केहि दूरी बढेको समेत चर्चा भइरहेको छ । प्रधानमन्त्रीले गरेका नियुक्तिको विषयलाई लिएर दुई अध्यक्षबीच पुनः असमझदारी र चर्काचर्कीकै अवस्था सिर्जना भएको समाचार समेत बाहिरिएका छन् ।
नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो जिम्मेवारी सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो ।
यस्तो छ कार्यदलको सुझाव
१ प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
२ सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
३ आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
४ सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
५ सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
६ कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।