भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

चितवन, १ भदौ । मेडिकल सुपरिटेण्डेन्ट सहित तीनजना चिकित्सकमा कोरोना संक्रमण भएपछि भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि थप संक्रमण वढ्न नदिन भन्दै आकस्मिक बाहेकका सेवा हालका लागि बन्द गरिएको हो ।
अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दे आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीमको उपचार गरिने जनाएको छ ।
यस्तै सघन कक्ष (आइसीयू) र प्रसुति गृह (मातृशिशु सेवा) मा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारी, प्रसुती विभाग प्रमुख डाक्टर सुनिलमणि पोखरेलसहित चिकित्सकलाई कोरोना संक्रमण भएको थियो । भरतपुर अस्पताल प्रसुतीको लागि काठमाण्डौंको थापाथली पछि धेरै विरामी आउने अस्पताल रहेको छ । चिकित्सकले हेरेका विरामीहरु खोजी गरी परीक्षण गर्ने तयारी भएको छ । भरतपुर केन्द्रीय अस्पतालमा तराइका १० जिल्ला भन्दा धेरै र पहाडी जिल्लाका विरामी आउने गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट