चितवन १ भदौं । चितवनमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार राति १२ बजे आएको पछिल्लो विवरण अनुसार विभिन्न पाँचसय ६८ जनाको नमुना परीक्षणमा ११ जनामा कोरोना भाइरस संक्रमण देखा परेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनु भयो ।
चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन् । भरतपुरमा चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । उनीहरु १५ देखि ४१ वर्ष उमेर समूहका छन् ।
यस्तै क्वारेन्टिनमा रहेका पूर्वी चितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्की संक्रमित महिला ८६ वर्षकी हुन् ।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज १० जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।