पर्सा, १ भदौं । पछिल्लो २४ घण्टामा पर्सामा मेयर र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।
पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं। ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अरु दुई डाक्टर, दुई नर्ससहित चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।
त्यसैगरी मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् । ज्वरो र खोकी लागेपछि मेयर रौनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए । ७ दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ आए पनि मेयर रौनियारको ज्वरो र खोकी निको भइसकेको छ ।
पोखरिया अस्पतालका सात डाक्टरमध्ये मेसुसहित चार डाक्टर र चार नर्समध्ये तीन नर्समा संक्रमण पुष्टि भएको छ । यसअघि नै पोखरिया नगरपालिका–४ का वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको उपप्रमुख सलमा खातुनले जानकारी दिएकी छिन् ।
केही दिनअघि १२ सय स्वाब नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसको रिपोर्ट आउने क्रम शुरु भएको छ । केही स्वाब नमुना केन्द्रीय प्रयोगशालामा र केही धुलिखेलमा परीक्षण भइरहेको जनाइएको छ ।