चितवन मेडिकल कलेजले पायो पीसीआर परीक्षण अनुमती

चितवन ३२ साउन । चितवन मेडिकल कलेज भरतपुरले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अनुमति पाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंबाट पीसीआर परीक्षण गर्ने अनुमति साउन ३० गते प्राप्त गरेको कलेजले जानकारी दिएको छ । कलेजका प्रवन्ध निर्देशक एवम् अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले अहिलेसम्मकै उच्च प्रविधिको प्रयोगबाट परीक्षण गर्ने तयारी भएको जानकारी दिनु भयो । सोमबार स्याम्पल परीक्षण गरेर हेर्ने, मंगलबारदेखि नियमित परीक्षणको तयारीमा रहेको न्यौपानेले बताउनु भयो ।
कलेजले अनुमती पाएको प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको थियो । ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्युलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को व्यवस्था अनुरुप कलेजले प्रयोगशालाका लागि आवश्यक सबै मापदण्ड पुरा गरेपछि अनुमति प्राप्त गरेको कलेजले जानकारी दिएको छ । कलेजले ५ करोड ४० लाखको लगानीमा अत्याधुनिक प्रविधिसहित प्रयोगशाला तयार गरेको जनाएको छ ।
मेडिकल ल्याब्रोटरीका विभागीय प्रमुख डा. सञ्जय राय यादवको नेतृत्वमा ८ जना दक्ष प्राविधिकहरूको टोलीले तीन सिफ्टमा २४ सै घण्टा प्रयोगशाला सञ्चालन हुने कलेजले जनाएको छ । एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमुना परीक्षण गर्न सक्ने क्षमता पीसीआर मेसिनको रहेको कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनु भयो । नमुना स्वाब लिएको ६ घण्टाभित्र नै परीक्षण नतिजा आउने उहाले बताउनु भयो ।
नेपाल सरकारले तोकेको गाइडलाइन अनुसार स्वाब संकलन गरिने र ६ हजार ५० रुपैयाँ तिरेर परीक्षण गर्न पाउने कलेजले जनाएको छ । भरतपुरमा महानगरपालिका–५ कैलाशनगरमा कोभिड ल्यावका लागि जनशक्तिदेखि अन्य व्यवस्थापन अलग्गै गरिएको छ । कोभिड प्रयोगशाला सञ्चालनमा ल्याएपछि चितवन र यस आसपासका जिल्लाका जनताको परीक्षणको दायरा अझैं फराकिलो बन्ने विश्वास लिइएको कलेजका प्रवन्ध निर्देशक एवम् अध्यक्ष डा. न्यौपानले बताउनु भयो । कोभिड ल्याव सञ्चालनपछि अप्रेशन गर्नुपर्ने बिरामी, संक्रमित भएको हुनसक्ने आंशका भएका व्यक्ति र फ्रन्टलाइनमा बसेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुलाई सहज हुने प्रवन्ध निर्देशक डा. न्यौपानले बताउनु भयो ।
कलेजले केही दिन अगाडि पत्रकार सम्मलेन गरेर ल्याब तयारी अवस्थामा रहेकाले अनुमती पाउने वितिकै सञ्चालन गर्ने जानकारी दिएको थियो । अहिले भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको कोभिड १९ ल्याबबाट परीक्षण गर्दै आएको छ । दुइ वटा मेडिकल कलेज र साना ठुला गरी दुइ दर्जन भन्दा धेरै अस्पताल रहेको भरतपुरमा तराइदेखि पहाडी जिल्लाबाट उपचारको लागि विरामी आउने गरेको छ ।
भरतपुर अस्पतालको ल्याबमा मात्रै पूर्वमा महोत्तरीदेखि पश्चिममा वर्दियासम्मको कोरोना परीक्षणको लागि स्वाब आउने गरेको भरतपुर अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलले जानकारी दिनु भयो । निजी स्तरमा ल्याब सञ्चालनमा आएपछि परीक्षण छिटो हुने विश्वास लिएको छ ।

शेयर गरौ

ताजा अपडेट