काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्नेगरी जिम्मा पाएको ६ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ । शुक्रबार गठन भएको कार्यदलले शनिबार पहिलो बैठक बसेर समस्याको पहिचान गर्ने काम गरेको छ ।
यसैबीच दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदलको औचित्यमाथि वरिष्ठ नेताहरुले प्रश्न उठाउनु भएपछि सोमबार विहानका लागि नेकपा सचिवालय बैठक तय गरिएको छ । सचिवालय बैठकमा छलफल गरी कार्यदललाई अधिकार प्रत्यायोजन गर्ने तयारी नेकपाले गरेको छ । बढीमा एक साताको समयसीमा पाएको कार्यदलले आज आइतबारदेखि विषयवस्तुमा छलफल शुरु गर्ने बताएको थियो ।
सहमति भएका विषयको प्रस्ताव पनि सँगसँगै मस्यौदा गर्ने कार्यदलको तयारी छ । शनिबार महासचिव विष्णुप्रसाद पौडेलको भैसेपाटीस्थित निवासमा बसेको कार्यदलको बैठक आज पनि बसिरहेको छ । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले ट्वीटमा लेख्नुभएको छ, “बैठक सकारात्मक र समस्या समाधान गर्ने विश्वासका साथ अगाडि बढेको छ ।” कार्यदलले काम शुरु गरे पनि वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई भेटेर कार्यदल गठन गर्ने प्रक्रिया नै गलत भएको टिप्पणी गर्नुभएको थियो ।
वरिष्ठ नेताहरुको मागअनुसार सचिवालयको बैठक सोमबार विहान बालुवाटारमा तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । कार्यदलको मापदण्ड र सीमा पनि सोही बैठकले तय गर्ने उहाँले बताउनुभयो । यद्यपि गठन भइसकेको कार्यदल भने विघटन नहुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीचको सहमतिअनुसार गरिएको निर्णय नै संस्थागत भएको सचिवालय मार्फत धारणा सार्वजनिक गर्नुभएको छ । सोही मान्यता अनुसार कार्यदलले काम अगाडि बढाएको हो ।
महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहनुभएको छ । यसअघि उपाध्यक्ष वामदेव गौतमले साउन १३ गते राख्नुभएको ६ बुँदे प्रस्तावअनुसार नै कार्यदलले सहमतिको मस्यौदा तयार गर्ने हिसावले छलफल गरिरहेको कार्यदलको सदस्यहरुको भनाई छ । उपाध्यक्षको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ । गोरखापत्र अनलाइनबाट