चितवन ३१ साउन । गम्भिर अवस्थामा रहेको कोरोना संक्रमित विरामीको पुष्पाञ्जली अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ ।
भरतपुरको चौबीसकोठीमा रहेको अस्पतालमा गम्भीर तर स्थिर रहेको अवस्थामा विरामीको उपचार भइराखेको अस्पतालले प्रेस विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएको छ ।
जारी विज्ञप्तिमा रत्ननगर नगरपालिका ९, टिकौली निवासी ६१ वर्षीय पुरुषको साउन २७ गते मंगलबारदेखि आइसीयूमा उपचार भइरहेको हो । श्वासप्रश्वासमा गम्भीर समस्या भई अस्पतालको आइसीयूमा भर्ना गरिएका ती बिरामीको दुबै फोक्सोमा निमोनिया देखेपछि भाइरल निमोनियाको रुपमा उपचार गरिएको अस्पताल प्रशासनको भनाइ छ ।
बिरामीको कोभिड–१९ स्वाब परीक्षणमा शुक्रबार आएको रिपोर्ट कोभिड–१९ पोजिटिभ देखिएको र ती बिरामीको अहिले पनि आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७७।४।३० मा स्वास्थ्य मन्त्रालयको एचइओसीबाट प्रकाशित सूचना र निर्देशन अनुसार कोभिड–१९पोजिटिभ भएका व्यक्तिलाई सोही अस्पतालमा राख्ने र हब अस्पतालसँग समन्वय गर्ने भनिए अनुसार जिल्ला प्रशासन र हब अस्पताल (भरतपुर अस्पताल) सँग समन्वय गरी निजलाई यसै अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिने जानकारी गराइन्छ ।’
आइसीयूको व्यवस्थापन, चिकित्सक लगायत स्वास्थ्यकर्मीको क्वारेन्टाइन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको विज्ञप्तिमा उल्लेख छ । आइसीयू भिन्न भवनमा रहेकोले त्यसलाई सिल गरी अर्को भवनबाट दिइने ओपिडी तथा आन्तरिक सेवा भने स्वास्थ्य निर्देशिका अनुसारको होसियारी अपनाई सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।




