कोरोना बढेपछि सप्तरी र धनुषाको जनकपुरमा निषेधाज्ञा

सप्तरी, २० साउन । कोरोना संक्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

सप्तरी जिल्लाभरी र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिंडडुल, आवतजावत गर्न प्रतिबन्ध लगाइएको हो ।

त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र गए राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताएका छन् ।

ताजा अपडेट