चितवन ११ साउन। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको बताए ।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताए ।
उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्कोठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेति किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए । यद्यपी अहिले सम्म अन्तिम रिपोर्ट प्राप्त भइसको छैन ।
मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव नेतृत्वको टोली पठाएको पनि उनले समितिलाई जानकारी दिए । सहसचिवको नेतृत्वमा गएको टोलीको प्रारम्भिक विवरणअनुसार मचानमा मात्र आगो लगाएको उनले समितिलाई बताएका थिए । आगलागी भन्दै सार्वजनिक भएको फोटो कुसुमखोलाको नभएकोसमेत बस्नेतले दाबी गरे।