चितवन ११ साउन। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले भुमिहिनको घरमा आगजनी र सेनाको कुटपिट बाट मारिएका गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले चितवन राष्ट्रिय निकुञ्जले माडी कुसुमखोलामा भएको आगजनी र निकुञ्जका सेनाबाट मारिएका युवक राजकुमार चेपाङको विषयमा गम्भीर चासो दिएको हो । विपदको समयमा वैकल्पिक व्यवस्थाबिना राष्ट्रिय निकुञ्ज वरपरका घरबास नउठाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र बासस्थानको हकविपरीत जनतालाई विपदको समयमा वैकल्पिक व्यवस्थाबिना चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा घरबास उठाउने कार्य नगर्न र नगर्न नगराउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार हात्ती लगाएर घर भत्काउने, घरमा आगजनी गर्ने गैरकानुनी कार्य भएको समितिको ठहर गरेको छ । त्यस्तै चितवन माडी नगरपालिका ९ मा हात्ती लगाएर चेपाङ समुदायका परिवारको घर भत्काउने र आगजनी कार्यमा प्रत्यक्ष संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । बैठकले चितवनका २४ वर्षीय राजकुमार चेपाङलाई निकुञ्जभित्र सेनाले पक्राउ गरी कुटपिटका कारण मृत्यु भएको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


