धादिङ, ६ साउन । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङखोलामा पहिरोले १२ घर बगाएको छ भने आठ वडा गाडी समेत पुरेको छ । जवाङखोलामा सञ्चालित ढुङ्गाखानीमा पहिरो खसेको हो ।
पहिरोले घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए । पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन ।
पहिरोले तीन वटा टिपर र पाँच वटा एस्काभेटर समेत पुरेको भट्टराईले जानकारी दिएका छन् ।
अविरल वर्षाका कारण अहिले सो क्षेत्रमा विद्युत र इन्टरनेट सेवा बन्द भएको छ ।
क्षतिको यकिन विवरण अहिले नै संकलन गर्न नसकिएको कार्यकारी अधिकृत भट्टराईले बताएका छन् । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न सडक खण्डहरूमा पहिरोले अवरोध सिर्जना गरेको छ ।
सोमबार नै धादिङको मौवाखोलामा बाढीले पुल बगाउँदा अझै आवतजावत बन्द छ भने अरू पनि विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।
मौवाखोला पुलसँगै जोडिएको सडक नदीले बगाएपछि सडक चालु गर्न समस्या भएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले बताएका छन् ।
वैदवारका अनुसार सडकका अन्य ठाउँहरुमा गएको पहिरो भने स्काभेटरलगायत साधनहरु प्रयोग गरी पन्छाउने काम भइरहेको छ । तर मौवाखोलाको पुलमाथि ठूलो ढुङ्गाले खोला छेकेकाले खोला सडकतर्फ पसेको छ ।
खोलाको वहाव अहिले पनि सडकमै भएकाले त्यहाँ काम नै शुरु हुन सकेको छैन । ‘पुल भने भत्काएको छैन, पुल जोड्ने सडक बगाएको हो,’ बैदवारले भने, ‘बेलिब्रिज लगाउन पुल भत्काउनु पर्छ, ग्याबिन भरेर सञ्चालन गर्न सकिन्छ कि भनेर हेर्दैछौं ।’