वीरेन्द्रमणि पौडेल
नामको बीचमा “बहादुर” भएका जंगबहादुर राणा भन्दा “प्रसाद” भएका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली भयंकर बहादुर देखिनु भएको छ ।
एकबारको जुनीमा सर्वसाधारण नागरिकदेखि उपल्ला राजनीतिज्ञ र अनेक पेशामा आवद्ध स्वदेश र विदेशमा बस्ने नेपालीहरुले यो चाहीँ कहिल्यै पत्याएका थिएनन् की सन् १९६५ देखि ब्यारेकै खडा गरेर नेपालको कालापानीमा बसेको भारतीय सेनालाई भारतले आफ्नै देश फर्काउन नैतिकदवाब पर्ने हिसाबले उहाँले काम गर्नुभयो । त्यो हो नेपालको नयाँ नक्सा प्रकाशन गर्ने काम । नेपालमा कुनैबेला राजसंस्था थियो र त्यही राजसंस्थाले मुलुक हाँकेको थियो ।
राजसंस्थाले मुलुक हाँक्दैका बखत भारतीय सेना नेपाल भूमिमा बसेको हो । नेपाल र अन्य देशमा उपलब्ध सबै खाले प्रमाणले यही भन्छन्की लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो । यतिभइकन राजसंस्थाका अगाडि के कस्ता बाध्यता थिए थाहा छैन तर राजा महेन्द्रले भारतीय सेना आफ्नो देश फिर्ता लैजाउ कहिल्यै भारतलाई भन्न सक्नुभएन । २०२८ साल माघ १७ गते राजा महेन्द्र चितवनको दियालो बंगलामा बित्नुभएपछि उत्तिनैबेला टाउकामा श्रीपेच ओढ्नु भएका राजा वीरेन्द्रले १८ वर्षसम्म सक्रिय राजाको रुपमा र १२ वर्ष संवैधानिक राजाको रुपमा शासन गर्नुभएपनि भारतसँग आफ्नो देशको भूमि र भारतीय सेनाद्वारा नेपाल भूमि निरन्तर प्रयोग भएकाबारे कुरा उठाउनु भएन ।
राजाको जेठा छोरा राजा हुने उतिबेलाको परम्परा अनुसार वीरेन्द्रलाई राजा बनाउन राजदरबारले टे«निङ दिएको थियो । तर अधिराजकुमारको मात्र टे«निङ प्राप्त ज्ञानेन्द्र वीर बिक्रम शाह अफ्ठ्यारो अबस्थामा श्रीपेच बोक्न पर्ने अबस्थामा आइपुग्नुभयो र उहाँले पनि नेपाल भूमिबारे भारतसँग डायलग गर्न फुर्सद पाउनु भएन । नेपालमा राजसंस्था जिउँदो छँदैमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दहरु पटकपटक प्रधानमन्त्री बन्नुभयो तर नेपाल भूमिबाट भारतीय सेना आफ्नो देश फर्किनपर्छ कहिल्यै भन्नु भएन । सायद उहाँहरुका अगाडि पनि अनेक खालका बाध्यताहरु थिए होलान् र भारतसँग वार्ता गर्न सक्नु भएन ।
राजसंस्थाको जरोकिलो पूरै उखेलेर गणतन्त्र घोषणा भएपछि पनि कम्युनिष्ट पार्टीका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल समेत प्रधानमन्त्री हुनुभयो तर उहाँहरुले समेत कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सम्झिन भ्याउनु भएन । अघिल्लो एकपटक प्रधानमन्त्री हुँदा केपी ओलीले समेत बिर्सिनु भएको थियो तर यसपटक उहाँलाई कसरी सम्झना आयो, कसले सुत्र दियो थाहा भएन तर इतिहासमा पहिलोपटक स्वदेशी भूमिबारे उहाँले स्पष्ट विचार राख्नुभयो र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा प्रकाशन गर्नुभयो ।
उहाँको राष्ट्रियताप्रतिको अडानलाई सबै राजनीतिक दलहरुले समर्थन पनि गरे । उहाँको यो कदमलाई कसैकसैले विरोध गरे तर उहाँले आफ्नो काम फत्ते गरिछाड्नुभयो । नयाँ नक्सालाई छिमेकी भारतले मान्यता दिएको छैन तर नयाँ नक्शाले समेटेको भूमि नेपालको होइन, भारतकै हो भन्ने प्रमाण पनि पेश गर्न सकेको छैन । सिर्फ मान्यता दिन्नौ मात्र भनेको छ । नयाँ नक्शा प्रकरण बाहिर आएपछि छिमेकी भारत नेपालसँग चिसो भएको साँचो हो तर भारतका एकथरी विद्वानहरुले नयाँ नक्शामा गाभिएको भूमि नेपालकै हो भन्ने दाबी सार्वजनिक गरिदिएपछि भने भारत अल्लि सेलाएको छ ।

फेरि अकाट्य साँचो चाहीँ के होभने नेपाल र भारतबीचको सम्बन्ध यस्तो छकी जतिसुकै रिस वा अहंकार प्रदर्शन गरेपनि लामो समय बोलचाल बन्द गरेर यी दुई देश बस्नै सक्दैनन् । अहिलेदेखि होइन, दशकौंदेखि दुईदेशबीच खुला सीमाना छ । दुईदेशका जनता निर्धक्क एकदेशबाट अर्कोदेशमा आतेजाते गर्छन् । रहनसहन्, सिनेमा, मिल्दोजुल्दो भाषाले जनस्तरमा सामिप्यता छ । भारतीय सेनामा नेपाली नागरिकहरु छन् । नेपालमा ती गोर्खाली फौजको नामले चिनिने सेनाका परिवार तिनले पाउने तनाखाबाट धानिएका छन् भने भारतको राष्ट्रियताको पहरेदारको रुपमा तिनै नेपालीले रगत पसिना बगाइरहेका छन् । आवश्यकपर्दा जीवन बलिदान समेत दिएका छन् । भारतीयहरुले नेपाल आएर दाम कमाउने र नेपालीले कमाउने विषय नयाँ होइन । नेपाल भारतको ग्राहक पनि हो ।
विश्वभरिबाट नेपालीले नेपाल पठाउने रेमिट्यान्सको ठूलो हिस्सा अनेक नामका चिजबीच र अन्न, फलफूल खरिद गर्दा भारतै जान्छ । ब्यापारी र ग्राहकको गाढा सम्बन्ध निकै पुरानो हो । यसरी हेर्दा भारत र नेपालको बाध्यात्मक सम्बन्धलाई चाहेर पनि कसैले बिगार्न सक्दैन । कहिलेकाहीँ ठास्सठुस्स र ङार्रङुर्र हुनु सामान्य हो । कहिले गरम र कहिले नरमवाला सम्बन्ध आजदेखिको होइन सन् १९४७ साल जतिबेला भारतले बेलायती दासताबाट स्वतन्त्रता पाएको थियो तत्पश्चात्नै ङार्रङुर्र शुरु भएको इतिहास छ । पहिलो र अन्तिम सत्य यही हो नेपाल र भारतबीच कहिल्यै युद्ध हुन सक्दैन र सानोतिनो कुरामा वा त्यो भन्दा केही ठूलो विषयमा किचकिच हुनभने कहिल्यै छाड्दैन । यो तीतो यथार्थ भारतीय शासकवर्ग र नेपाली राजनीतिज्ञहरुले राम्रैसँग बुझेको हुनुपर्छ ।
फेरि यतिबेला भारतमा नरेन्द्र दामोदरदास मोदी नामका एकजना यस्ता प्रधानमन्त्री हुनुहुन्छ जो आर्थिक हिसाबले अति विपन्न परिवारबाट आउनुभएको हो । उहाँलाई मानव दुख र कष्टबारे राम्रै अनुभव छ । आफ्नो देशको दुखकष्ट मात्रै होइन, छिमेकीहरुको कर्कामर्काबारे पनि उहाँ जानकार हुनुहुन्छ । हाम्रा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री ओलीबीच मानव र छिमेकीलाई हेर्ने दृष्टिकोणमा ज्यादै समानता देखिन्छ । यसकोणबाट हेर्दा यसोभन्न हिच्किचाउन पर्दैनकी भारतको तर्फबाट नेपाललाई मर्का परेको छभन्ने महशुस हुने बित्तिकै उहाँ स्वयंले वार्ताद्वारा नेपालको कष्टमाथि सम्बोधन गर्नुहुने छ । अर्को कोणबाट सबैले हेक्का राख्न पर्ने विषय के पनि होभने नेपाल भारत सम्बन्ध चीन भारत र पाकिस्तान भारतको जस्तो होइन । नेपाल र भारत पानी बाराबार गरेर बस्नै सक्दैनन् । धेरै कारणले सक्दैनन् ।
अहिले एकपटक फेरि नेपालको राजनीतिमा कम्पन आएको छ । खासगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुबीच प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदलाई शीर्षक बनाएर गरिएको विवादले राष्ट्रमा चिन्ता थपेको छ । कोरोना भाइरसले जनताको दैनिक जीवन र अर्थब्यबस्था डाँबाडोल बनाइरहेको अबस्थामा नेताहरुबीचको नकारात्मक सम्बन्ध बाहिर आउनुलाई कसैले पनि निको मानेका छैनन् । एकथरी विश्लेषकले प्रधानमन्त्रीले मनोमानी ढङले देश हाँक्दा दुवै पदबाट राजिनामा मागिएको बताइरहँदा अर्को कोणबाट अनुपयुक्त समयमा राजिनामा मागेर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयास भएको भनिएको छ । दुईमध्ये एकलाई साँचो मान्न सकिन्छ तर जुनचाहीँ साँचो भएपनि यतिबेलाको मनमुटावले सिङगोे मुलुकलाई रसातलमा पु¥याउने सम्भावना रहन्छ । मनमुटावको तुरुन्त अन्त्य गर्न नेतागण क्रियाशील हुन जरुरी छ ।
दुईदुई पटक मृगौला प्रत्यारोपण गरेको रोगी शरीर, छिमेकी भारत रिसाएको अबस्था, मुलुकभित्र बन्दाबन्दीको अबस्थाले शिक्षा, स्वास्थ्य, यातायात र उद्योग ब्यापार खुम्चिएको अबस्थामा समेत विना हड्बडाहट मुलुक हाँक्ने प्रधानमन्त्री ओलीलाई बहादुर भन्नुपर्छ । तर यतिभइकन संसारका हरेक प्रधानमन्त्री र राष्ट्रपतिहरुले निकै लामो समयमा आवश्यक्ता पर्दा मात्रै बोल्ने गरेको अबस्थालाई हेर्दा हाम्रा प्रधानमन्त्रीको सम्बोधन चाहीँ केही ज्यादा नै भएको होकी सबैलाई लागेको छ । फेरि पनि यस्तो चाही हुनसक्छ की नेपाल र भारतबीचको सम्बन्ध सुधार पनि केपीओलीको पालामा हुन्छ भने आन्तरिक राजनीतिमा देखिएको धमिलोपनको पनि अन्त्य हुनसक्छ ।


