चितवन समाचारडटकम, ३ साउन । युवा परिषद नेपाल चितवनकाे टाेलीले भगवान रामकाे जन्मस्थल अनुमान गरिएको माडीको अयाेध्यापुरीको शनिबार स्थलगत अवलोकन गरेको छ । संस्थाका चितवन संयाेजक अस्मिन घिमिरेकाे नेतृत्वमा २५ जना युवाहरूको टाेलीले अयाेध्यापुरीको स्थलगत भ्रमण गरेकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभुमि नेपालकाे यसै क्षेत्रमा रहेकाे अभिव्यक्ति दिएपछि चासाे र उत्साहपुर्वक अयाेध्यापुरी क्षेत्रकाे भ्रमण गरिएको संयाेजक घिमिरेले बताउनुभयो । भ्रमणका क्रममा कतिपय प्रमाणजन्य बस्तुगत अवस्था फेला परेको उहाँले जानकारी दिनुभयाे । प्राचीन कालिन संरचनाको भग्नावशेष, स्नानस्थल ताल, सीता गुफा, वाल्मीकि अाश्रम लगायतको गहन अनुसन्धान अावश्यक रहेकाे पाईएकाे घिमिरेले बताउनुभयाे । भ्रमण टाेलीले अयाेध्यापुरी क्षेत्रका जनप्रतिनिधि वडाध्यक्ष कृष्ण अधिकारी , स्थानीय अगुवा शिवजी गायक, स्थानीय पंडित सुदर्शन सुवेदी सहित स्थानीय समुदाय संग अन्तरक्रिया समेत गरेकाे थियो । साे क्रममा स्थानीय अगुवाहरुले अयाेध्यापुरी क्षेत्रमा संम्वन्धित निकायहरुबाट यथाशीघ्र अध्ययन अनुसन्धानकाे खाचो अाैंल्याएका थिए । प्रधानमन्त्रीकाे अभिव्यक्ति पछि बढेकाे चासाेले अाफुहरु उत्साहित बनेकाे उनिहरुकाे भनाई छ । टाेलिमा युवा तथा बिधार्थि नेताहरु दिलिप पाैडेल, ऋषिकेश रेग्मी , परमेश्वर खनाल लगायत सहभागी हुनुहुन्थ्यो ।


