काठमाडौं, ३ साउन । पार्टीभित्र देखिएको विवादको गाँडो फुकाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पनि उपलब्धीबिहीन बन्न पुगेको छ ।
शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए ।
प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताएका छन् । ‘पार्टीभित्र देखिएका विभिन्न समस्याका बारेमा छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ ।’
बैठकमा दुवै अध्यक्षले अहिलेको संकटको सहमतिका आधारमा निकास दिने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने दिशामा अगाडि बढ्ने बताएको उनले जानकारी दिए ।
‘अध्यक्ष कमरेडहरुले अहिलेको पार्टीको समस्या र संकटलाई सहमतिको आधारमा निकास दिएर पार्टी एकताको पनि रक्षा गर्ने र राष्ट्र र जनताले दिएको जिम्मेवारी पनि पूरा गर्ने दिशामा अगाडि बढ्नु पर्छ भन्नुभयो’, प्रवक्ता श्रेष्ठले भने ।
ओलीले राखे मंसिरमा महाधिवेशन प्रस्ताव
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रस्ताव सकारात्मक भए पनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् । विगतमा पनि यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।