चितवन ३ साउन । भरतपुर महानगरपालिका वडा नं. ३ को चारवटा कालोपत्रे सडक उद्घाटन भएको छ ।
प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेश सभा सदस्य घनश्याम दाहाल अविनाशले वडा नं. ३ को चारवटा सडक अनुगमनपछि उद्घाटन गर्नु भएको हो । संघ र प्रदेश सांसदको विकास कोषबाट प्राप्त रकमबाट सडक निर्माण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोखरेलले अहिलेको सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताउनु भयो । जनताको समस्यालाई नजिकबाट नियाल्दै आवश्यकताको आधारमा विकासका पूर्वाधार निर्माण गर्दै लौजाने काम गरेको जानकारी दिनु भयो । सांसदको विकास बजेटबाट प्राप्त रकमको कसरी सदुपयोग भएको छ भन्ने विषयमा आफूले जानकारी लिने गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद घनाश्याम दाहालले नेकपाको नेतृत्वको सरकारले देशको मुहार फेर्ने बताउनु भयो । अहिले हरेक टोलमा सडक कालोपत्रे सडकले प्राथमिकता पाएको जानकारी दिनु भयो ।
वडा नं. ३ को शिवमन्दिर मार्ग ढल तथा कालोपत्रे, युनिक मार्गमा कालोपत्रे, चमेली स्कुल मार्गमा कालोपत्रे, देउराली मार्गमा कालोपत्रे गरिएको हो । एक करोड २० लाखमा निर्माण गरिएको कालोपत्रेको जनप्रतिनिधिहरुले निरिक्षण गर्नु भएको थियो । वडा नं. ३ नेकपा अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।