भरतपुर महानगरद्वारा बाेटे समुदायलाई घर हस्तान्तरण

चितवन , २९ असार ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार वडा नम्बर २५ मा बोटे समुदायलाई घर हस्तान्तरण गर्नुभएको छ । प्रमुख दाहालले आज सोमबार यहाँको बोटे टोलमा रहेका अति सिमान्तकृत समुदायका लागि निर्माण गरिएको १० वटा घर हस्तान्तरण गर्नुभएको हो ।

महानगर प्रमुख दाहालले जनता आवास कार्यक्रम अन्तरगत संघ र भरतपुर महानगरपालिकाको ६१ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको १० वटा भवन त्यहाँका बोटे समुदायका १० परिवारलाई हस्तान्तरण गर्नुभयो । सिमान्तकृत बोटे समुदायलाई घर हस्तान्तरण गर्दै प्रमुख दाहालले घर नभएकाहरुलाई महानगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गर्दै जाने बताउनुभयो । जनता आवासको कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने प्रमुख दाहालको भनाइ छ ।

महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै महानगर क्षेत्रभित्रबाट खरको छानो हटाउने अभियान समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । नगर प्रमुख दाहालले खरको छानो हटाएर सो घरमा जस्ताको छाना लगाउने काम भइरहेको समेत जानकारी दिनुभयो ।

प्रमुख दाहालले वडा नम्बर १३ उज्ज्वलनगरमा १० घर दराई परिवारको घर समेत निर्माण भइरहेको बताउँदै आगामी आर्थिक वर्षमा संघीय सरकारसँगको सहकार्यमा महानगरको अन्य वडाहरुमा चार सय भन्दा बढी जनता आवास निर्माण गर्नेगरी काम अगाडि बढिरहेको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट