चितवनका पत्रकार रिजालद्वारा लिखित `एकान्तवास´ प्रकाशनकाेे अन्तिम चरणमा

चितवन, २६ असार ।

चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेकाे पुस्तक `एकान्तवास´ छिट्टै सार्वजनिक हुने भएकाे छ ।

काेराेना भाइरस (काेभिड-१९) महामारीको कारण गरिएकाे विश्वव्यापी लकडाउनका बेला भाेगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएकाे डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएकाे छ ।

“मेराे मात्रै हाेइन, हामी सबैका अनुभूतिकाे प्रतिविम्ब समेटेकाे छु”, लेखक रिजालले भने, “काेराेना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्राे जीवनकालमा भाेगेका सबैभन्दा अविष्मरणीय घटना हाे, यसलाई कसैले पनि भुल्न सक्दैन ।”

किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएकाे कठिन लकडाउनका सन्दर्भ समेटिएका छन् । हरेक दिनका घटना र गतिविधिका टिपाेटलाई उनले निबन्धात्मक रूप दिएका छन् । हरेक सन्दर्भलाई उनले व्याख्या गरी यसका कारण र परिणामकाे चर्चा गरेका छन् ।

२०६१ सालबाट पत्रकारिता थालेका रिजाल कायाकैरन दैनिकमा सम्पादक छन् । स्थानीय रेडियो, टेलिभिजनमा पनि समाचार प्रमुख भएर काम गरेका उनले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरेका थिए । युरेका पब्लिकेसनले प्रकाशन गर्ने पुस्तक नारायणगढकाे सम्पूर्ण किताबमा उपलब्ध हुनेछ ।

तीन सय पृष्ठको किताबको मूल्य ३७५ राखिएको छ । पुस्तक असार अन्तिमसम्ममा पाठकको हातमा आइपुग्ने युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए ।

शेयर गरौ

ताजा अपडेट