चितवन, २४ असार ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा असार १९ गते जारी गरेको विज्ञप्तीप्रति आज बुधबार संयुक्त दलित संघर्ष समिति चितवनले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गरेको छ ।
नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार विश्वकर्माले सरकार पक्षका राजनीतिक जनवर्गीय संगठनहरूले आन्दोलनमा खासै गम्भीरता नदेखाएको भन्दै ८ वटा विभिन्न संघ संस्था सहित संयुक्त दलित संघर्ष समिति चितवनबाट असार १९ गतेदेखि बाहिरिएको जानकारी दिएकी थिइन् ।
दलित समुदायको विभेद विरूद्धको आन्दोलनमा क्रियाशिल रहेको संयुक्त दलित संघर्ष समिति चितवनलाई असार १९ गते संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनले सरकार पक्ष भन्दै जारी गरेको विज्ञप्ती प्रति विभिन्न सामाजिक संघ संस्थाहरू सम्मिलित संघर्ष समितिका सदस्य सचिव यमबहादुर विश्वकर्माले प्रेस विज्ञप्ती जारी गर्दै उक्त शब्द प्रति ध्यानाकर्षण गरेका छन् ।
आन्दोलनका पक्षधरहरू सबै वर्ग र समुदायहरू एकताबद्ध भएर जानुपर्ने अवस्थामा केही साथीहरु यस मोर्चाबाट अलग भएको घोषणा गर्नु राम्रो नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विभिन्न कारणले यस समितिबाट अलग भएर जानुहुने साथीहरूलाई आगामी दिनमा अझ सशक्त आन्दोलन अगाडि बढाउन पुनः यस समितिमा आबद्ध हुन प्रेस विज्ञप्ती मार्फत अपिल गरेका छन् ।