विश्वकर्मा सेवा समिति चितवनका संस्थापक अध्यक्षकाे निधन

चितवन, २४ असार ।
विश्वकर्मा सेवा समिति चितवनका संस्थापक अध्यक्ष शेरबहादुर विश्वकर्मा पौडेलको ७१ वर्षको उमेरमा भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । उनी लामो समयदेखि रक्त क्यान्सरबाट पीडित रहेका थिए । उनले तत्कालिन समयमा विश्वकर्मा समुदायलाई एकीकृत गर्दै वि.सं. २०५१ साल वैशाख ८ गते विश्वकर्मा सेवा समिति चितवन गठन गरेर संस्थागत रूपमा संस्थापक अध्यक्ष रहेर कार्यसम्पादन गरेका थिए । उनी कम्युनिष्ट सिद्धान्त राख्ने एक बामपन्थी नेताको रूपमा परिचित रहेका थिए ।

वि.सं.२००७ साल जेष्ठ १९ गते जन्मिएका उनी निरन्तर समाज रूपान्तरणको अभियानमा क्रियाशिल रहेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी चितवनका संगठित सदस्य र नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका पूर्व कोषाध्यक्ष समेत रहेका थिए ।

दलित समुदायको उत्थानको निमित्त क्रियाशिल रहेका कारण उनलाई मुक्ति समाजका केन्द्रीय सदस्य, चितवन जिल्ला इन्चार्ज चक्र रुचालले मुक्ति समाजको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सोहीक्रममा नेकपा चितवनका सचिवालय सदस्य समेत रहेका चक्र रुचाल, नेकपा चितवनका सदस्य कृष्ण केसी, नेकपा चितवनका जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तेजबहादुर रामदाम र नेकपा चितवन वडा नं २ का अध्यक्ष माधव देवकोटाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै उनलाई विश्वकर्मा सेवा समिति चितवनका पूर्व अध्यक्षहरू चित्रबहादुर खाती विश्वकर्मा, शेरबहादुर विश्वकर्मा ‘ख’, देवीराम पौडेल र वर्तमान अध्यक्ष विपेन्द्र रामुदामुले समितिको ब्यानर ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सचिव रमेशचन्द्र सदाशंकरले स्वर्गीय विश्वकर्माको जीवनी वाचन गरेका थिए ।

उनी वि.सं.२०४३ सालमा गठित सुनचाँदी कला व्यवसायी संघ चितवनका संस्थापक सदस्य, वि.सं.२०५३ सालमा पुर्नगठित नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको संस्थापक उपाध्यक्ष, नेपाल दलित समाज कल्याण संघका केन्द्रीय सल्लाहकार एवम् चितवन शाखाका सल्लाहकार संयोजक, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनका अग्रज अभिभावक रहेका थिए । स्वर्गीय विश्वकर्माको पार्थिव शरिरलाई जेठो छोरा बृहस्पति विश्वकर्माले दागबत्ति दिएका दिए । उनलाई श्रद्धाञ्जली अर्पण गर्न पवित्र स्थल देवघाटमा परिवारजन, राजनीतिकर्मी, समाजसेवी, शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

उनी साविक धौलागिरी अञ्चल, म्याग्दी जिल्ला, भगवती गाविस वडा नं ४, मुलपानीमा जन्मिएका थिए । हाल उनी भरतपुर महानगरपालिका वडा नं २ जलमा हल रोडमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए ।

शेयर गरौ

ताजा अपडेट