काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच उत्कर्षमा पुगेको विवाद केहि मत्थर हुँदै गएको छ ।
पार्टी एकतालाई बीचमै अलपत्र पार्न नहुने भन्दै दोस्रो पुस्ताका नेता–कार्यकर्ताले दिएको दबावका कारण भनाभन र आरोप प्रत्यारोपबाट छलफलको टेबुलमा आइपुगेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि छलफल हुँदैछ ।
बिहान १० बजेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुने भएको छ । ‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भइसकेको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल शुरु हुन्छ होला ।’
पार्टी विभाजनकै अवस्थामा पुग्ने गरी विवाद चर्किएपछि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला–एक्लै छलफल भएको थियो । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्ला एक्लै छलफलमा बसेका थिए ।
प्रधानमन्त्री केपी ओलीले पार्टी र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने प्रचण्डको माग र दुवै पद नत्याग्ने ओलीको अडानका कारण पार्टी फुटको संघारमा नेता–कार्यकर्ताको दवावका कारण दुई नेता छलफलबाट विवाद समाधान गर्न सकारात्मक बनेका हुन् ।
आज र भोलिसम्म नेकपामा सहमति हुने वा नहुने टुङ्गो लाग्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । अबको एक–दुई दिन नेकपाका लागि महत्वपूर्ण दिन रहेको र यसपछि विवादले अन्तिम फैसला दिने उनी बताउँछन् ।