अमिर रामदाम,
चितवन, १९ असार । चितवनको दलित आन्दोलन आजदेखि दुई चिरामा विभाजित भएको छ । गत जेठ १० गते रूकुम पश्चिम चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति चितवनको नाममा गत जेठ १४ गतेदेखि चरणबद्ध आन्दोलनहरू भइरहेको थियो ।
रूकुम घटना र देशभरि भइरहेको जातीय विभेद विरूद्ध चितवनमा राजनीतिक जनवर्गीय संगठन, सामाजिक संघ संस्था, दलित समुदायका पत्रकारहरू सबै आन्दोलनमा थिए । सबैको सामुहिक आलोपालो नेतृत्वमा आन्दोलन परिचालन भइरहेको थियो ।
तर प्रतिपक्ष राजनीतिक जनवर्गीय संगठनहरूले सरकार पक्षले आन्दोलनमा खासै गम्भीरता नदेखाएको भन्दै आजदेखि संयुक्त दलित संघर्ष समिति चितवनबाट नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार विश्वकर्माको नेतृत्वमा ८ वटा राजनीतिक जनवर्गीय संगठन, सामाजिक संघ संस्थाहरू अलग्गिएको घोषणा गरेको छ ।
नेपाली काँग्रेस निकट नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार विश्वकर्मा, जनता समाजवादी पार्टी दलित मुक्ति महासंघका अध्यक्ष तुलाराम विश्वकर्मा, नेकपा क्रान्तिकारी माओवादी निकटको नेपाल दलित मुक्ति मोर्चा चितवनका अध्यक्ष रामचन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातन्त्र दलित संगठन चितवनका अध्यक्ष मिना विश्वकर्मा, वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल निकटका रूपलाल विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष अम्मर विश्वकर्मा, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अध्यक्ष पुरण रपाल, हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रीय सदस्य सिमा घताने विश्वकर्माद्वारा संयुक्त हस्ताक्षर भएको विज्ञप्ती जारी गर्दै ८ वटा संघसंस्था संयुक्त दलित संघर्ष समिति चितवनबाट अलग्गिएको घोषणा गरेका हुन् । अबको दिनमा संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनको ब्यानरमा आन्दोलनको कार्यक्रमहरू आयोजना हुने उक्त विज्ञप्तीमा उल्लेख छ । सरकार पक्षका नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चाको नेतृत्व पक्षबाट आस्था र विश्वासको आधारमा रूकुम घटना लगायतको आन्दोलन कमजोर हुनसक्ने सम्भावना रहेको भन्दै सो समूह अलग्गिएको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार विश्वकर्माले सरकार समर्थित नेतृत्व समेत रहेको संघर्ष समितिले आन्दोलनको मूलभूत आवश्यकतालाई महत्वमा नराखेकोले आफूहरू अलग्गिएको बताएकी छिन् । उनले संघर्ष समितिको शिर्ष नेतृत्वहरूसंग चरणबद्ध बैठकहरू बसेको तर नेतृत्वहरूले आफ्नो कुराहरू सुनुवाई नगरेपछि आफूहरू बाहिरिएको बताएकी छिन् । आजसम्म एकता र सहकार्यको लागी पर्खिएको तर हाल आन्दोलित संघर्ष समितिको नेतृत्वबाट तपाईंहरू अलग्गै आन्दोलन गर्नुहोस् हामी एकभएर जान सकेनौँ भन्ने आशय प्राप्त भएपछि अलग्गिएको उनले बताएकी छिन् ।
नेपाल दलित संघका केन्द्रीय सदस्य विपेन्द्र रामुदामुले दलित संघको नेतृत्वमा छुट्टै आन्दोलन गर्ने भन्ने विषयमा जिल्ला समितिमा कुनै किसिमको छलफल नभएको र केन्द्रीय सदस्यको हैसियतमा रहेको कारण आफूलाई कुनै पनि जानकारी नभएको बताएका छन् । यस किसिमको निर्णय संस्थागत नभइ एकल र मनोमानी ढंगले भएको उनले बताएका छन् । सबै मिलेर भएको चरणबद्ध आन्दोलनले समस्या र चुनौती ल्याएको हुन सक्छ तर दलित समुदायको विभेद उन्मुक्ति लागी अलग्गै रहेर गरिने आन्दोलनले कतिको सफलता मिल्छ र मिल्दैन् त्यो समयले बताउने रामुदामुले तर्क गरेका छन् । उनले हिजो पनि संयुक्त दलित संघर्ष समिति चितवनको ब्यानरमा आन्दोलनमा होमिएको र भोली पनि यहिँ ब्यानरमा आफू आन्दोलनमा होमिने बताएका छन् ।
सोही क्रममा संयुक्त दलित संघर्ष समिति चितवनका सदस्य सचिव यमबहादुर विश्वकर्माले आन्दोलनलाई अगाडि बढाउने नेतृत्वको विषयमा समझदारी कायम हुन नसकेपछि उहाँहरू अलग्गिएको बताएका छन् । उहाँले दलित समुदायले अझ सशक्त एकीकृत आन्दोलन गर्ने बेला ध्रुवीकृत आन्दोलनको घोषणा भएको कारण आफू दुःखित भएको बताएका छन् ।


