गैँडाकोटको सुनचाँदी पसल चोरी गर्ने तीन जना पक्राउ

गैँडाकोट १९ असार । पुर्वी नवलपरासीको गैँडाकोटमा रहेको मोनिका सुनचाँदी पसलबाट गरगहना चोरी गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर टिकाथली बस्दै आएका २४ वर्षका अनुज लामा भक्तपुरको सुर्यविनायक वडा नम्बर ८ वस्ने २८ वर्षका तीर्थबहादुर रुम्बा र सुर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने ४० वर्षीय जीतबहादुर तामाङ रहेका छन ।
पक्राउ परेका उनिहरुको साथबाट १२ तोला ५ प्वाईन्ट सुन , विभिन्न कम्पनीका ६ थान मोवाईल, एकथान स्कुटर, फोडिएको अवस्थामा फेला पारिएको सेफ लकर, एकथान ठेला र खैरो रङको कपडाको पाईन्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गैँडाकोटमा आज विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दिपक रेग्मीले घटनाको अनुसन्धान जारी रहेको बताँउदै छिट्टै टुङगोमा पुगिने विश्वास ब्यक्त गरे ।
प्रहरी प्रमुख रेग्मीले डाँका चोरी मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको बताँउदै घटनामा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य भैरहेको बताए ।
गत फागुन १८ गते गैँडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन, १ किलो चाँदीका गरहना र नगद ७ लाख रुपैँया चोरी भएको थियो । सोहि घटनाका अभियुक्तहरु मध्ये तीनजनालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
तपाइँको प्रतिक्रिया