चितवनका इटा उद्योगलाई माटोको समस्या, १४ उद्योग बन्द

चितवन समाचार डटकम
२ फागुन । घर निर्माणको लागि आवश्यक पर्ने इट्टा उत्पादन गर्र्दै आएका उद्योगहरु कच्चा सामग्रीको अभावमा वन्द हुने अवस्थामा पुगेका छन् ।
चितवन जिल्लामा सञ्चालनमा रहेका इट्टा उद्योगहरुको लागि आवश्यक पर्ने माटोको अभाव हुन थालेपछि वन्द हुने अवस्थामा पुगेको हो । स्थानीयको जमिन खरिद गर्दै अग्लो, ढिस्को भएको स्थानको माटो काटेर उद्योगले इट्टा बनाउदै आएका थिए ।

त्यसरी खरिद गर्दै आएको जमिनको अभाव भएको, जमिनको अत्याधिक मुल्यवृद्धिले गर्दा उद्योग सञ्चालनमा नै समस्या परेको इट्टा व्यवसायी संघ चितवनका अध्यक्ष तथा केन्द्रीय सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

‘जमिनको अभावमा नै उद्योग संकटमा पर्न थालेको छ’ उहाले भन्नु भयो ‘कतिपय उद्योगहरु कच्चा सामग्रीको अभावले गर्दा वन्द भइसकेका छन् ।’ अहिले सञ्चालनमा रहेका उद्योग पनि लामो समय टिक्न सक्ने अवस्थामा छैनन् । अग्लो जमिन भएको स्थान घडेरीको लागि उपयुक्त हुने भन्दै जग्गा व्यवसायीले गाउँगाउँमा प्लटिङ गर्न थालेपछि उद्योगलाई समस्या परेको छ ।

कच्चा सामग्री तथा जमिनको अभावमा यसै वर्ष तीन वटा उद्योग वन्द भएका छन् । दुइवटा वन्द भएका छन् अध्यक्ष सापकोटाले भन्नु भयो अब एउटा वन्द हुन लागेको छ । दश वर्ष अगाडि ३० वटा उद्योग भएको चितवनमा अहिले १६ वटा मात्र सञ्चालनमा छन् । अहिले चलिराखेका उद्योग पनि आउदो पाँच वर्ष भित्र ज्यादै थोरै मात्र चल्ने छन् अध्यक्ष सापकोटाले भन्नु भयो सञ्चालनमा रहेका उद्योगले मुस्किलले कच्चा पदार्थ ल्याउने गरेका छन् ।

केही वर्ष अगाडिसम्म अग्लो जमिन भएको ठाउँमा जग्गा धनीले धान रोप्न मिल्ने बनाउनको लागि उद्योगलाई लिजमा जमिन दिने गरेका थिए गणेश इट्टा उद्योगका सञ्चालक राजु गुरुङले भन्नु भयो । तर अहिले त्यस्तो अवस्था छैन । उद्योगले दिने जग्गाको मुल्य भन्दा प्लटिङ व्यवसायीले दिने रुपैया धेरै हुने भएपछि जग्गा पाउन समस्या परेको छ । उद्योग भएको स्थानमा माटो पाइदैन उहाले भन्नु भयो टाढाबाट खरिद गरेर ल्याउदा महंगो पर्छ । महंगै परेपनि खरिद गर्छु भन्दा पनि माटो पाउन ज्यादै कठिन छ ।

जग्गाको मुल्य वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर इट्टा उद्योगमा परेको मनकामना इट्टा उद्योगका सञ्चालक पुष्पकुमार पियाले बताउनु भयो । १० वर्ष अगाडि प्रसस्त जग्गा पाइने अवस्था थियो । अहिले त्यो समय छैन । जग्गाको मुल्य वढेपछि भाडामा जमिन लिन वा खरिद गरेर उद्योग चलाउन नसकिने अवस्थामा पुगेको पियाले बताउनु भयो ।

ग्रामिण क्षेत्रमा प्रति कठ्ठा एक लाख रुपैयामा पाइने जमिन अहिले मुल्य वृद्धि भएर प्रति कठ्ठा २० लाख रुपैया भन्दा माथि पुगेपछि उद्योगीहरु व्यवसाय वन्द गर्न थालेका छन् । वर्षौदेखि यही पेशा गर्दै आएका थियौ अव नसकिने भएको छ । अव मुस्किलले दुइ वर्षसम्म चल्छ भन्ने आशा पलाएको छ उहाले भन्नु भयो त्यसपछि उद्योग वन्द गर्ने तयारी छ ।

कच्चा पदार्थ नपाउने समस्या ठुलो छ धरेल इट्टा उद्योगका व्यवस्थापक कैलाश दहालले भन्नु भयो मजदुर नपाउने अर्को समस्या छ । अर्को वर्ष काम गर्न आउनका लागि अघिल्लो वर्षनै पेश्की दिएर पठाउनु पर्ने अवस्था छ उहाले भन्नु भयो मजदुर आएन भने दिएको पैसा फिर्ता हुदैन । यो उद्योगहरुको साझा समस्या हो ।
मजदुरहरुले पहिल्यै पैसा लिएर जाने र काममा नआउने समस्याले उद्योग सञ्चालकलाई थप समस्या पर्ने गरेको छ । पछिल्लो वर्ष काम गर्न आउनको लागि अघिल्लो वर्ष उद्योगले मजदुर ठेकेदारलाई पैसा दिने प्रचलन छ । मजदुरहरुको समस्या, कच्चा पदार्थ नपाउने, वातावरण मैत्री उद्योग वनाउनु पर्ने जस्ता विभिन्न कारणले उद्योग चलाउन ज्यादै कठिन भएको उहाले बताउनु भयो ।

इट्टा उद्योगमा आएको नयाँ प्रविधि, इट्टा पोल्नको लागि आवश्यक प्रविधि, वातावरण मैत्री उद्योग सञ्चालन गर्नको लागि अपनाउनु पर्ने सावधानी लगायतको कारणले पनि उद्योग सञ्चालन गर्न ठुलो खर्च लाग्ने भएको छ । परम्परागत रुपमा इट्टा पोल्दै आएका नयाँ प्रविधि अपनाउन नसकेका र वातावरण मैत्री वनाउन नसकेका उद्योगहरु पनि वन्द हुन पुगेका छन् ।

ताजा अपडेट