चितवन, १४ असार । जननेता मदनकुमार भण्डारीको जन्म जयन्तीको अवसर पारेर उहाँको शव भेटिएको स्थान गाजीपुरमा शालिक अनावरण गरिएको छ ।
चितवनको मुग्लिन नारायणगढ सडक खण्डको दासढुंगामा जिप दुर्घटना भएर गाजीपुरमा शव भेटिएको स्थानमा अर्धकदको शालिक निर्माण गरी आज अनावरण गरिएको हो । तुलसीप्रसाद श्रेष्ठ र दिलकुमारी श्रेष्ठले सौजन्य गर्नु भएको शालिकको वाग्मती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले आज अनावरण गर्नु भयो ।
मदन स्मृति पार्कमा निर्मित शालिकको संयोजन भदन भण्डारी फाउण्डेशन चितवनले गरेको थियो । पार्क निर्माणमा संघीय सरकारको बजेटबाट काम भइराखेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिनु भयो । संघीय सरकारको ५० लाख र स्थानीय १० लाख गरी अहिले ६० लाख रुपियाँमा पछिल्लो काम भइराखेको उहाले जानकारी दिनु भयो ।
पार्कमा टावर पनि निर्माण भएको छ । यसको अलकै शीर्षकबाट काम भइराखेको उहाले बताउनु भयो । तत्कालिन एमाले महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी मृत्यु भएको थियो ।
शालिक अनावरण कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्ण भुर्तेल, भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, वागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम फाउण्डेशनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।


