आउदैन भन्दाभन्दै आयो सलह :एकै दिनमा तराइबाट पहाडी जिल्ला पुग्यो

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो ।

अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छ, हामीलेे प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उनी भन्छन् ।

उनकाअनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ ।

पर्साको पर्सागढी नगरपालिका-३ बढि्नहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिररहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताए । ‘बिहान म खेतमा आली लगाउन आएको थिए, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उनी भन्छन्, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि  बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’

सलह किरा रौतहटका विभिन्न स्थानीय तहमा पनि पलिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीयले बताएका छन् ।

भित्री मधेस हुँदै पहाड उक्लियो

तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ ।

शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार र त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।

यसै बिच रुपन्देहीमा पनि सलह देखियो 

बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,  तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्यानहपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानुरगढी र वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर  क्षतिको जानकारी आएनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

बकैया-१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडाबाट किरा देखिएको छ । बकैयाका केहि वडामा देखिएका सलह बागमती गाउपालिकातर्फ गएको स्थानियले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको  पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् ।

स्थानीय राजवीर विकका अनुसार मध्यान्हपछि एकाएक सलहको हुल देखिन थालेको थियो । स्थानीयले सलह भगाउन थाल र विभिन्न ठूला आवाज निस्कने भाँडाकुडा ठटाएका थिए । काभ्रेको डाँडापारी खानिखोला गाउँपालिकामा पनि सलह किरा देखा परेको छ । यसले शनिबार विहान तराईमा देखिएको सलह भित्री मधेस हुँदै पहाडी जिल्लाहरुमा पुगेको प्रष्ट भएको छ ।

सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

शेयर गरौ

ताजा अपडेट