७७ जिल्लामा कोरोना फैलियो : आज मात्रै थप ५५४ जना, नेपालमा १२ हजार नाघ्यो

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

कुल संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि रसुवा बाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो ।

शनिबार रसुवामा समेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ । हालसम्म कुल २ लाख १० हजार ८७६ पुगेको छ । मन्त्रालयको जानकारी अनुसार पीसीआर टेष्ट घटेको छ ।

ताजा अपडेट