चितवनमा दोस्रो कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, १३ असार । कोरोना पोजेटिभ भएका एकजना पुरुषको शनिवार विहान भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
पश्चिम नेपाल कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो । उहाँ फोक्सोको क्यान्सरका विरामी भएको भरतपुर अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलले जानकारी दिनु भयो ।
शुक्रबार दिउँसोदेखि उहाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उहालाई आइसोलेशन वार्ड बाट आइसीयूमा सारिएको थियो । उहाको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पताल सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो । चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अथक प्रयासमा उपचार गर्दा गर्दै मृत्यु हुन पुगेको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि राति १० बजे नै भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको जेठ २७ गते कोरोना संक्रमितपछि मृत्यु भएको थियो । शवको आजै अन्यष्टी गरिदैछ ।

शेयर गरौ

ताजा अपडेट