इटालियन सिरी ए फुटबलमा युभेन्टसद्वारा लेची पराजित

काठमाडौं, १३ असार ।
युभेन्टसले इटालियन सिरी ए फुटबलको उपाधि होडमा आफूलाई बलियो बनाउँदै लगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले लेचीलाई ४–० ले पराजित गर्दै दोस्रो स्थानको लाजिओसँगको अंक दूरी सात बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । ३१ औं मिनेटमा फाबियो लुचिओनी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेची १० खेलाडीमा सीमित भएको थियो ।

युभेन्टसका लागि ५३ औं मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे ।

गोन्जालो हेगुइनले ८३ औं तथा माथेज डी लिग्टले ८५ औं मिनेटमा गोल गरेपछि युभेन्टस ४–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको युभेन्टसको २८ खेलबाट ६९ तथा दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक रहेको छ । एजेन्सी

शेयर गरौ

ताजा अपडेट