रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन आउने तयारी

तीर्थ नेपाल
चितवन समाचार डटकम , असार ५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आउने तयारी भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनकै दिन असार ७ गते भरतपुर आउने सम्भावना रहेको बताइएको छ। उहाँको बसोबासका लागि पटिहानी र सौराहाका होटलहरू बुक गरिसकिएको स्रोतको दाबी छ।
सार्वजनिक कार्यक्रममा खासै देखिन रुची नमान्ने प्रधानमन्त्री शाह संसदमा समेत उपस्थिति नहुँदा बिपक्षी दलहरुले आलोचना गरिरहेका छन् । महाधिवेशनमा समेत कतै उनको अनुपस्थिति रहने हो कि भन्ने आम आशंका पनि थियो । 

स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालय टोली शुक्रबार साँझ चितवन आइपुग्नेछ। टोलीले प्रधानमन्त्री सौराहामा बस्ने वा पटिहानीमा बस्ने भन्ने विषय अन्तिम टुंगो लगाउनेछ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रधानमन्त्री शाह चितवन आउने जानकारी आफूहरूलाई रहेको बताए। उनले सुरक्षा संवेदनशीलताका कारण आगमन समय र बसोबास स्थानबारे सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारे।

“सम्माननीयज्यूको आफ्नै पार्टीको महाधिवेशन भएकाले उहाँ आउनु स्वाभाविक हो। तर कहिले आउने र कहाँ बस्ने भन्ने विषय सुरक्षा कारणले अहिले खुलाउन मिल्दैन,” प्रजिअ अर्यालले भने।

यस्तै, रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले पनि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह महाधिवेशनमा सहभागी हुने जानकारी प्राप्त भएको बताए। उनका अनुसार प्रधानमन्त्रीका लागि आवश्यक होटल व्यवस्थासमेत गरिसकिएको छ।

रास्वपाको राष्ट्रिय महाधिवेशनलाई लिएर चितवनमा राजनीतिक चहलपहल बढिरहेको छ ।
असार ७,८ र ९ गते रास्वपाको महाधिवेशन चितवनको भरतपुरमा हुदैँछ ।

शेयर गरौ

ताजा अपडेट