काठमाडौं ,९ असार ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीकाे आज दाेस्राे दिनकाे बैठकमा १८ जना सदस्यहरूले
नेपालकाे सीमा समस्या र समाधानका बारेमा धारणा राख्नुभएकाे छ । पार्टीका प्रचार बिभाग उपप्रमुख सूर्य थापाका अनुसार
बैठककाे शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराकाे अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेकाे, तर भारतले वार्ताकाे सकारात्मक तत्परता नदेखाइरहेकाे जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याकाे समाधान गरिने उल्लेख गर्नुभयाे । उहाँले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएकाे भन्ने झूठाे, नियाेजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएकाे र चीनसँग सीमाकाे सम्बन्धमा कुनै समस्या नरहेकाे पनि स्पष्ट गर्नुभयाे ।
बैठकमा लीलामणि पाेखरेल,मातृका यादव, देव गुरूङ, गाेकर्ण विष्ट, शंकर पाेखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बाेहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्याैपाने र नारायणकाजी श्रेष्ठले बाेल्नुभयाे ।
बैठकमा महासचिव विष्णुप्रसाद पाैडेलले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजकाे बैठकमा अाफू उपस्थित नहुने र बैठक सुचारूरूपमा संचालन गर्न भन्नुभएकाे जानकारी गराउनुभएकाे थियाे ।
स्थायी कमिटीकाे अर्काे बैठक भाेलि ११ बजे बस्नेछ ।