कैलाली, माघ २ । थ्रीस्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टर काँकडभिट्टालाई २–० ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।
दोस्रो हाफमा २ गोल
धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थ्रीस्टारले २ गोल गर्यो ।
खेलको ६९औं मिनेटमा रुपेश केसीले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए ।
८०औं मिनेटमा थ्रीस्टारले अग्रता दोब्बर पार्यो । सुनील बलले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गरे ।
विकास राईले रन्जन विष्टलाई लडाएपछि रेफ्रीले राईलाई पहेंलो कार्ड देखाएका थिए ।
थ्रीस्टारका मिडफिल्डर बल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
संकटा र पुलिस आमने–सामने
बिहीबार हुने दोस्रो सेमिफाइनलमा संकटा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
फाइनल खेल आगामी शनिबार हुनेछ ।
मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेता टिमले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख पाउँदा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।