चितवन समाचार डटकम,
९ असार । कोरोना संंक्रमण हुन नदिनको लागि दुरी कायम गर्न लगाउने निकायमा नै नियमको पालना नभएको देखिएको छ ।
चितवन जिल्लाको प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, मालपोत कार्यालय, भरतपुर अस्पताललगायतका स्थानमा अहिले सेवाग्राहीको भिडले गर्दा कोरोना संंक्रमणको उच्च जोखिम बढेको छ । सवारी साधनको कर तिर्नका लागि सेवाग्राहीको चाप बढेपछि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा व्यवस्थापन गर्न कठिन हुदा संक्रमणको जोखिम वढेको हो ।
कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले भन्नु भयो ‘कर तिर्नको लागि आउनेहरुको भिडले समस्या बनाएको छ । दुरी कायम गर्न अनुरोध गर्ने, स्थान छुट्याइदिने, सावुन पानीको व्यवस्था गर्दा समेत सेवाग्राहीले नियमको पालना गर्नु भएको छैन ।’ हामीले धेरै पटक अनुरोध गरेका छौ तर सेवाग्राहले मान्नुहुन्न पौडेलले भन्नु भयो ।
उहाका अनुसार यातायात कार्यालय भरतपुरमा अहिले दैनिक छ सय भन्दा धेरै सेवाग्राहीहरुले राजश्व वुझाउन आउने गर्नु भएको छ । यो कार्यालयमा सवारी साधनाको कर तिर्ने नविकरण गर्ने व्यवस्था छ । लकडाउनको कारण तीन महिना रोकिएको काम एकैपटक हुदा भिड हुने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो । कार्यालयले असार महिना भित्र कर तिर्न आउदा जरिवाना नलाग्ने भन्दा समेत सेवाग्राहीले नमानेको उहाँको भनाइ छ । कार्यालयमा दैनिक ५० लाख भन्दा माथि राजश्व उठ्ने गरेको छ ।
मोटरसाइकलको कर तिर्न आउनु भएको रोशन काफ्लेले भन्नु भयो ‘यही कामले आएको छु अब अर्को दिन कसरी आउने, आजै तिरेर जानु पर्ने छ ।’ आफूले मात्र दुरी कायम गरेर हुदो रहेनछ अर्कोले आएर पालो मिचेर अगाडि जान्छ कसरी पछि बस्ने उहाले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भन्नु भयो ‘सेवाग्राहीलाई जती भनेपनि मान्नु भएको छैन, भिड हुने कार्यालयमा आफैले अनुगमन गरेर सुधार गर्न निर्देशन दिएको छु विस्तारै पालना होला ।’ जिल्लामा भिड हुने कार्यालयमा यातायात, जिल्ला प्रशासन हो उहाले भन्नु भयो । प्रशासनमा पास लिन, अन्य कामको लागि आउनेहरुको भिड वृद्धि भएको छ यसलाई हामीले स्वास्थ्यको हिसावले व्यवस्था गर्दै छौ । मालपोत कार्यालयमा पनि सेवाग्राहीको भिड वढेको भन्ने सूचना आएको छ त्यसलाई पनि व्यवस्थापन गर्न लगाउनेछु ।
सरकारी कार्यालयमा लागने भिड, बजारका पसलहरुमा हुने भिडले कोरोना संक्रमण वृद्धि हुने भन्दै चिन्ता व्यक्त गरिएको छ ।


