जनकपुरधाम ७ असार । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै प्रदेश २ को विभिन्न स्थानमा त्यसको विरोध सुरु भएको छ। आज नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरधाम सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ।
नागरिकता सम्बन्धि यो नया प्रावधानले सबैभन्दा बढी मधेसी समुदायका व्यक्ति प्रभावित हुने भएकोले विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्।
आज जनकपुरधाममा नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नागरिकता ऐन संशोधन विधेकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी बुहारीलाई सातवर्ष पछि मात्र अंगिकृत नागरिकता दिने सत्तारुढ नेकपाले निर्णय गरेको थियो।
नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागिएको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्। पर्साको वीरगञ्ज, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर लगायत विभिन्न जिल्लाहरुमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विरोध प्रदर्शन गरेका हुन्।


