काठमाडौ ७ असार । हरेक दिन चारसयको हाराहारीमा कोरोना संक्रमीत व्यक्ती सार्वजनिक भैरहदा सरकारले भने समुदायमा संक्रमण फैलिनसकेको दावी गरेको छ ।
नियमित प्रेस ब्रिफिङमा क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गर्नु भएको छ ।
उहाले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएको जनाउनु भयो। जसमध्ये पनि धेरैजसो भारतबाट आएको जानकारी दिनु भयो ।
कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी छन्। साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ।
मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले दाबी गर्नु भयो। उहाले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताउनु भयो।
महाशाखाको संयोजकत्वमा प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्रले काम गरिरहेको र थप संयन्त्र विस्तार हुने क्रमले कन्ट्याक्ट ट्रेसिङको काम थप प्रभावकारी रहने उहाको भनाइ छ। अहिले महाशाखामा २० वटा टोली र प्रत्येक प्रदेशमा तीन वटा टोलीले कन्ट्याक्ट ट्रेसिङको काम गरिहेको पाण्डेले जानकारी दिनु भयो।


