सिन्धुपाल्चोक , ५ असार । सिन्धुपाल्चोक जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेलम्ची नगरपालिकास्थित रिभर साइड र बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएका १८ जनालाई कोरोना संक्रमण भएको हो ।
यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो ।
उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु जेठ २९ गते स्वदेश फर्केका थिए ।
त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


