काठमाडौं, असार २ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धेरै मानिसको परीक्षण गरेकाले मात्र अमेरिकामा कोरोना भाइरस संक्रमणका विरामी बढी फेला परेको तर्क दोहोर्याएका छन् ।
कोरोनाबाट संसारमै सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमणका कारण आलोचना खेपिरहेका ट्रम्पले आफ्नो चुनावी भेलामा प्रस्थान गर्नुपूर्व अरु देशको तुलनामा अमेरिकी परीक्षण निकै स्तरीय रहेको पनि दाबी गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अरु कुनै देशको तुलनामा हाम्रो परीक्षण निकै वृहत र स्तरीय छ । धेरै संक्रमित फेला पर्नुले नै यसका लागि हामीले निकै राम्रो काम गरेको पुष्टि हुन्छ । परीक्षण नै नगर्दा वा कमजोर परीक्षण गर्दा त कुनै संक्रमित नै देखिन्न नि । त्यसैले परीक्षण दुई धारे तरबार जस्तै हो । हामीलाई हेर्दा नराम्रो लाग्न सक्छ तर यसले राम्रो गरिरहेको हुन्छ ।’
कोरोना भाइरसबाट अमेरिकामा १ लाख १८ हजार मानिसको मृत्यु हुँदा २१ लाख ८२ हजार जना संक्रमणको चपेटमा आएका छन् ।


