काठमाडौं, १ असार । ओमानबाट १६६ नेपाली स्वदेश फर्किएका छन् । नेपाली नागरिक बोकेर आएको सलाम एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरण भएको छ ।
सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत स्वदेश फर्किएका हुन् । जहाजले एउटा शव पनि ल्याएको छ । कोरोना भाइरसका सिर्जित समस्याका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीलाई सुलभ दरमा टिकट उपलब्ध गराएको जनाएको छ ।
समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहेको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको जनाइएको छ ।
एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेको भन्दा सस्तो हो । कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ ।
समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको राजदूत पराजुलीले जानकारी दिएकी छिन् । दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कने छन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।
सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।
ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छिन् । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वारेन्टिनमा जान पाउने जनाइएको छन् ।


