कविता
म सोच्छु, हेरिरहन्छु
र यो मन
छियाँ छियाँ हुन्छ
आकाशमा एक्कासी
कालो बादल लाग्छ
न्यायका लागी चित्कारहरू
गुञ्जयमान हुन्छ
तर यहाँ मानवताको न्याय
हराएको छ,
म खोज्दैछु, खोजि रहन्छु
निरन्तर
खोज्नेछु ।
यि दुई नयनहरूबाट
अश्रुधारा
बगिरहन्छन्
यि नयनहरूले
स्वर्णिम बिहानीको
बाटोहरू
हेरिरहेको छ,
बाटोहरू कुरिरहेको छ
तर यहाँ
त्यो बाटो बन्दको
आभास
दिइरहेको छ
र पनि
म कुरिरहेको छु, कुर्दैछु
निरन्तर
कुर्नेछु ।
म चिच्याउँदै छु
कराउँदै छु
र पनि
थाकेका छैनन्
यि मेरा आवाज
सुकेका छैनन्
यि मेरा गला
प्रवाह बिहिन
भयो मेरो
समाज
हेपाहा भयो
मेरो जात
रगत मेरो पनि
रातै थियो,
तर पनि
म अछुतो
भए
मैले छोएको
पानी चलेन
मैले बनाएको
मूर्ति चल्यो
म चिच्याउँदै छु, चिच्याइरहेको छु
निरन्तर
चिच्याउने छु ।
कलिला
ति अबोधलाई
किन त्यति बिघ्न
अन्याय दियौं ?
ति आमाले
पर्खिरहेकी छिन्
छोरा आउने
बाटो हेरिरहेकी छिन्
नियाली रहेको छिन्
र पनि
कहिल्यै नआउने गरि
रित्तियो त्यो
काख
न्यायका लागी
म भौतारीदैँ छु, भौतारी रहेको छु
निरन्तर
भौतारिनेछु
विगतका दिन
म सम्झन्छु
तिमीले कर गरेर
मलाई हिँडाएको
बाटो
कस्तो थियो
भनेर
ति दिनहरू
अझै
ताजा छन्
तिमीले देखाएको
सपना पनि
यो क्यानभासमा
छछल्किन्छन्
कर गरेर हिंडाउने
प्रवाह गर्दै
अघि बढाउने
हे सबका
प्रिय मान्छे,
अन्धकारलाई उज्यालोमा
लैजान अनवरत
खोज्ने तिमीले
किन
अहिले बोली
फेर्यौ ?
किन कुरा अन्तै
मोड्यौ ?
त्यसैले तिम्रो
त्यो शब्दका कारण
म हर रात
बर्बराउँदैछु, बर्बराइरहेको छु
निरन्तर
बर्बराउँनेछु ।
लाउलाउ
खाउखाउ
गर्ने उमेर
थियो
तर चञ्चल
भयो मन
र
सजाय दियौं
कठोर नरसंहार !
के प्रेम
भन्ने चीज यस्तै हो ?
म पनि अलि
डराएको छु,
डराउँदै छु
के यस्को
उपहार
मृत्यु नै हो ?
भो सरकार अब
त अति भो
यो समुदायमा हुने
दलन मेट्ने
की
दलित ?
त्यसैले सरकार
अब त
आँखा खोल !
– अमिर रामदाम
भरतपुर-२, चितवन
लेखन मिति: २०७७ जेठ ३१ गते, शनिबार


