गुल्मी, ३२ जेठ । गुल्मीमा एक कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिएका छन् ।
मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ । तीन साताअघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।


