चितवन, २९ जेठ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । संघको आयोजनामा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ ।
सदस्यहरुमा संघका केन्द्रिय सदस्य भीम घिमिरे, संघका ५ नं प्रदेश अध्यक्ष चिन्ता परियार, अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली ,संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।
यही जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । प्रतिवेदनमा भनिएको छ, “यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।
अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।
घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड) अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।
अध्ययन समितिका संयोजक गोपाल बराईलीले प्रतिवेदन सार्वजनिक गर्दै वाचन गरेर सुनाएका थिए । उनले घट्नामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने आफुहरुको उद्देश्य रहेको सुनाए । त्यस्तै, उनले आफूहरुले कसैको प्रभाव र सहयोग नलिईकन घट्नाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारे । र, उक्त घट्नामा १८ जना युवाहरुमध्ये एक जनाले पनि प्रतिकार नगरेको बराईलीले स्थलगत अध्ययनबाट थाहा पाएको सुनाए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जातीय विभेदकै कारण प्रेम सम्बन्धलाई चूनौति दिईएको र धरापमा पारिएको र त्यही श्रृंखलाको कडीको रुपमा ६ जनाले ज्यान गुमाउनु परेको स्पष्ट तस्विर आफूहरु काठमाडौंमा बस्नेले पनि बुझ्न सकेको सुनाए ।
उनले भने,‘त्यही कारणले सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले हामीले जे कुरा हो, स्पष्ट तस्विर राख्नुपर्छ ।’ आफूहरु पत्रकारमात्रै नभएर गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएको उनले सुनाए । उक्त घट्ना मानव सभ्यताकै एउटा कलंककै रुपमा रहिरहने पनि उनले टिप्पणी गरे ।
त्यस्तै, अध्ययन टोलीका सदस्य बद्री भुषालले गत बैशाख १७ गते नवराज बिक प्रेमिकाको घर रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जाँदा त्यही गाउँका स्थानीय युवा विनोद मल्लले नवरालाई झापड हानेको उल्लेख गरे । र, सोही दिन वडाअध्यक्षको एक कल फोनको भरमा नवरालाई २४ घण्टासम्म थुनामा राखिएको पनि उनले सुनाए । भुषालले यो घट्नाको अनुशन्धानमा राजनीतिक हस्तक्षेप गरिएको पनि आरोप लगाए । उनले यो घट्नामा नियोजित रुपमा र भौतिक रुपमा प्रत्यक्ष संलग्न दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनको सञ्चालन भने भीम घिमिरेले गरेका थिए ।


